
नयाँ दिल्ली । बैंकको सात हजार करोड भारु नतिरेपछि भारतका चर्चित उद्योगपति विजय माल्यालाई विदेश जान रोक लगाउनु पर्ने माग गर्दै भारतका बैंकहरुले अदालतमा मुद्दा दायर गरेका छन् । माल्या विरुद्ध १७ वटा बैंकले मंगलबार भारतको सर्वोच्च अदालतमा उजुरी दायर गरेका हुन्।
ऋण तिर्न नसकेपछि माल्या देश छोडेर भाग्ने डर बैंकहरुलाई छ । यही कारण माल्या देशबाट बाहिर जान रोक लगाउन अदालतसँग बैंकहरुले माग गरेका हुन्।
सोमबार नै माल्या विरुद्ध मनी लाउण्डरिङको मुद्दा दर्ता भइसकेको छ । उनले बैंकबाट लिएको पैसा कहाँ प्रयोग गरे भनेर अहिले अनुसन्धान भइरहेके छ । यही अनुसन्धानका क्रममा मनी लाउण्डरिङको मुद्दा दर्ता भएको हो । उनलाई सिबिआईमा यस्तो मुद्दा दर्ता भएको नव भारत टाइम्सले अनलाइन सस्करणमा लेखेको छ ।
यो मुद्दापछि डेप्ट रिकभरी ट्रिव्युनलले ५१५ करोड भारु बैंकबाट निकाल्न रोक लगाइदियो । डायाजियोसँग लामो समयसम्म कायम विवाद सुल्झाउन र यूनाइटेड स्पिरिट्सको प्रमुखको पदबाट राजिनामा दिए बापत माल्याले उक्त रकम पाएका थिए।
भारतमा माल्यालाई लिकर्स किङका रुपमा हेरिन्छ । उनी युनाइटेड स्पिरिट्सका मालिक हुन् । उनी राजनीतिमा पनि सक्रिय छन् । हाल उनि युबि ग्रुपका प्रमुख हुन्। यस ग्रुपले ६० कम्पनीहरुको बहुराष्ट्रिय साझेदारी दिएको थियो।
प्रकाशित : बिजमाण्डु, २६ फागुन २०७२, १०.००
वि.सं.२०७२ फागुन २६ बुधवार ११:३९ मा प्रकाशित