
झापा । नेकपा (एमाले) मेची अञ्चल कमिटीले झापा विद्रोहका क्रममा पाँचजना योद्धाले सहादत प्राप्त गरेको स्थल झापाको सुखानीबाट आजदेखि ‘मेची अभियान’ सुरु गरेको छ ।
आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको अभियानको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरे । प्रधानमन्त्री ओलीले झापा ऐतिहासिक भूमि भएको र झापा आन्दोलनकै कारण मुलुकमा गणतन्त्र स्थापित भएको बताए ।
उनले झापा विद्रोहका सहिदले देखाएको बाटोमा हिँडे मात्र सहिदको सपना साकार हुने उल्लेख गर्दै झापा धार्मिक, ऐतिहासिक र पर्यटकीय भूमिसँगै राजनीतिक आन्दोलनका लागि पनि उत्तिकै महत्वपूर्ण थलो भएकाे बताए ।
अभियानअन्तर्गत ताप्लेजुङको ढुङ्गेसाघुसम्म पुगेर चैत ३ गते पहिलो चरणको कार्यक्रम समापन हुने बताइएको छ । चैत ३ गते ताप्लेजुङबाट सङ्खुवासभाको गुफा पोखरी, तेह्रथुमको तीनजुरे, वसन्तपुर, धनकुटाको छिन्ताङ हुँदै चैत ६ गते सुनसरीमा अभियान समापन हुने जनाइएको छ । अभियानमा ७५ वटै जिल्लाका नेकपा (एमाले)का अध्यक्ष अगुवा नेता, कार्यकर्ता, सांसद, साहित्यकार, पत्रकार, चिकित्सकसहित १५० जनाको टोली सहभागी रहेको छ ।
टोलीले अधिकांश यात्रा पैदल रुपमै पूरा गर्ने तथा त्यस क्रममा मेची अञ्चलका राजनीतिक, धार्मिक र सांस्कृतिक पर्यटकीयस्थलको प्रवद्र्धन गरिने नेकपा (एमाले)ले जनाएको छ । प्रधानमन्त्री ओलीले अभियानको उद्घाटनसहित टोलीको बिदाइ गरे ।
अभियान उद्घाटन समारोहमा कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अग्नि खरेलसहित मेची अञ्चलका एमालेका सांसदहरुको पनि उपस्थिति थियो ।
वि.सं.२०७२ फागुन २७ बिहीवार १६:५४ मा प्रकाशित