
काठमाण्डौँ । संयुक्त राज्य अमेरिकाबाट प्रकाशन हुने चर्चित म्यागेजिन ‘फोब्र्स’ले सन् २०१६ का विश्वका अर्बपतिको सूचीमा नेपालका उद्योगपति विनोद चौधरीलाई पुनःसमावेश गराएको छ ।
चौधरी समूहका अध्यक्ष चौधरीको सम्पत्ति १.१ बिलियन अमेरिकी डलर अर्थात् करिब एक खर्ब १० अर्ब रुपैयाँ रहेको ‘फोब्र्स’ले उल्लेख गरेको छ । म्यागेजिनले बुधबार सार्वजनिक गरेको सूचीमा उहाँलाई विश्वका अर्बपतिको एक हजार ५७७औं स्थानमा राखेको छ । चौधरीका भारत, बङ्गलादेश, श्रीलङ्का, सर्बिया, साउदी अरब, रुवान्डा लगायतका देशमा लगानी छ ।
नबिल बैंक एवम् सिजी इलेक्ट्रोनिक लगायत कम्पनीका मालिक ६० वर्षीय चौधरीले गत वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट भत्किएका विद्यालय एवम् घर निर्माणका लागि २.५ मिलियन डलर अर्थात् रु २५ करोड सहयोग गर्नुभएको फोब्र्सले उल्लेख गरेको छ ।
उक्त म्यागेजिनले विश्वको एक नं सूचीमा अमेरिकी खर्बपति बिल गेट्स नै परेको उल्लेख गरेको छ । रासस
२८ फागुन २०७२, ८.००
वि.सं.२०७२ फागुन २८ शुक्रवार १०:३३ मा प्रकाशित