
काठमाण्डौं । अपी पावर लिमिटेडले एक कित्ता शेयर बराबर नयाँ दुई कित्ता शेयर अर्थात दुई सय प्रतिशत हकप्रद जारी गर्ने निर्णय गरेकोछ । सो कम्पनीको फागुन ३० मा बसेको संचालक समितिको बैठकले कम्पनीको हालको चुक्ता पूँजी एक अर्बको दोब्बर अर्थात दुई अर्ब बराबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको हो ।
यसका लागि चैत्र २७ मा कम्पनीको बिशेष साधारण सभा बोलाउने निर्णय भएको कम्पनीले जनाएको छ ।
कम्पनीले श्री सिद्घकाली पावर कम्पनीले निकट भविष्यमा निर्माण गर्न लागेको ७५ मे.वा.को आयोजनामा बहुमत शेयर खरिद गर्ने योजना लिएको छ भने कम्पनीको सतप्रतिशत लगानीमा ८ मे.वा.को अपर नौगड गाढ आयोजना र ४० मे.वा.को माथिल्लो चमेलियाको निर्माण कार्यलाई समेत अघि बढाउने निर्णय गरेको कम्पनीका डाइरेक्टर भरतबहादुर खत्रीले जानकारी दिए ।
कम्पनीले यस अघिनै १७ महिनाको छोटो अवधिमा ८.५ मे.वा.को नौगड गाढ आयोजना समापन गरि राष्ट्रिय प्रशारण लाईनमा जोडी सकेको छ । हकप्रद आउने र नयाँ आयोजनमा लगानी गर्ने हल्लाका कारण यस कम्पनीको शेयर मुल्य अस्वभाविक रुपमा केही दिनदेखि बजारमा उचालिएको छ ।
१ चैत २०७२, ७.००
वि.सं.२०७२ चैत १ सोमवार ११:०६ मा प्रकाशित