
काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नेपाल आयल निगमको व्यवस्थापनले संस्थागत रुपमा कालोबबजारी गरेर उपभोक्ताहरुमाथि लुट मच्चाइरहेको भन्दै दोषीमाथि कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेको छ ।
अनेरास्ववियुको टोलीले कालोसूचीमा परेको निजी क्षेत्रको विराट पेट्रोलियमलाई प्रतिलटर ३१ रुपैयाँ महङ्गोमा पेट्रोल बेच्न दिने निर्णयका पछाडि ठूलो आर्थिक चलखेल रहेको भन्दै चलखेलमा संलग्न पदाधिकारीमाथि कारवाही गर्न माग गरी बुधबार अख्तियारमा उजुरी दर्ता गरेको हो ।
अनेरास्ववियुकी अध्यक्ष नविना लामासहितको टोलीले दर्ता गरेको उजुरीमा विराट पेट्रोलियमसँगको सम्झौता खारेज गर्न तथा कालोबजारी र संस्थागत भ्रष्टाचारमा संलग्न निगमका पदाधिकारीमाथि कारवाहीको माग गरिएको छ ।
अनेरास्ववियुको ज्ञापनपत्र बुझ्दै अख्तियारका प्रवक्ता पुष्करले सरकारले भारतले नाकाबन्दी लगाएको असहज परिस्थितिमा निजी क्षेत्रमार्फत इन्धन भित्र्याउन गरेको निर्णयलाई निगमको व्यवस्थापनले फाइदा लिने माध्यम बनाएको बताए । उनले विराट लगायतका ३५ वटा संस्थालाई इन्धन भित्र्याउन दिने निर्णयलाई सरकारले बेवास्ता गरेको परिणाम कालोबजारीयाहरुको मनोबल बढेको र उपभोक्ताहरु मारमा परेको उल्लेख गरे ।
वि.सं.२०७२ चैत ३ बुधवार १४:०९ मा प्रकाशित