
पोखरा । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्कमार्फत नेपालले प्राप्त गर्ने २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको छ । यो ऋण स्वीकार गरेपछि पोखरा अन्तराष्ट्रिय विमानस्थलको निर्माण अघि बढाउन वित्ती स्रोत जुटेको छ।
सरकारले विमानस्थल निर्माणका लागि ठेकेदार समेत छनोट गरिसकेको छ। पोखरासँगै एशियाली विकास बैंकको सहयोगमा भैरहवामा पनि क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निर्माणको काम सुरु भएको छ। यसैगरी मन्त्रिपरिषद्को बिहिवार साँझ बसेको बैठकले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप दिएको करिब ४९ करोड पचास लाख रुपैयाँ अनुदान पनि स्वीकार गर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए।
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय समेत गरेको छ । मन्त्रिपरिषद् बैठकले भ्रमण फलदायी बनाउन थप गृहकार्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले जानकारी दिए। प्रधानमन्त्री ओली चैत ७ गते चीन भ्रमणमा जाँदैछन्। उनी चैत १४ गते चीनबाट स्वदेश फर्कने कार्यक्रम छ।
मन्त्रिपरिषद् बैठकले कर्णाली अञ्चलका पाँचै जिल्ला र सेतीको बाजुरा जिल्लामा देखिएको खाद्यान्न सङ्कट समाधान गर्नका लागि ती स्थानमा अविलम्ब खाद्यान्न पुर्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ । रासस
५ चैत २०७२, १०.००
वि.सं.२०७२ चैत ५ शुक्रवार ११:०९ मा प्रकाशित