
काठमाण्डौं । भारतले नेपालसँग कायम आफ्नो ऐतिहासिक र जनस्तरको सम्बन्धका अगाडि अरू कुनै देशसँगको सम्बन्ध वा समझदारीलाई ‘तुलना गर्नै नमिल्ने’ बताएको छ ।
नेपालका प्रधानमन्त्री केपी ओलीको जारी चीन भ्रमणका क्रममा भएको १० बुँदे समझदारी र चीनसँग नेपालको बढदो सम्बन्धले ल्याएको ‘चुनौती’ बारे सोधिएको जिज्ञासामा विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले भूराजनीतिक तथा ऐतिहासिक कारणले पनि नेपाल–भारत विशिष्ट सम्बन्धको अरू कहींकतै तुलनै हुन नसक्ने प्रतिक्रिया दिएका हुन् ।
‘नेपालसँग कायम रहेको खुला सिमानाको सम्बन्ध, इतिहासको साझेदारी, संस्कृति र सभ्यताको समानता तथा जनस्तरको साइनो सधैं अतुलनीय छ,’ जवाहर भवनमा हिजो मंगलबार प्रेस ब्रिफिङमा प्रवक्ता स्वरूपले भने, ‘प्रधानमन्त्री ओलीको एक महिनाअघिको दिल्ली भ्रमणले पनि यो विशिष्ट सम्बन्धको तहलाई स्पष्ट पारेको छ ।’
प्रकाशित : कान्तिपुर, १० चैत, २०७२, ११.००
वि.सं.२०७२ चैत १० बुधवार १२:११ मा प्रकाशित