
काठमाण्डौं । नेपालको मध्यपश्चिम क्षेत्रमा सुन खोज्न चिनियाँ कम्पनी दर्ता भएको छ। उद्योग विभागमा दर्ता भएको झोङ्वो इन्टरनेशनल मिनिरल कम्पनीले मध्यपश्चिम क्षेत्रमा सुनको सम्भाब्यता अध्ययन गर्नेछ। चीनको राजधानी बेङजिङ निवासी सुन डे लीको एकल कम्पनीलाई ुक्यारिआउट फिजिवीलिटी स्टडी एण्ड प्रोस्पेक्टिङ वर्क फर प्लेसर गोल्ड माइनुका लागि सरकारले अनुमति दिएको हो।
अल्पकालीन सम्झौताका आधारमा रहेर तीन सय दिन काम गर्ने गरी उद्योग विभागमा कम्पनी गत फागुन ३० गते दर्ता भएको थियो। स्थिर पूँजी दुई करोड तीस लाख, चालु पूँजी ६० लाख सहित जम्मा तीन करोडको लगानीमा सो खानी सम्भाव्यता गर्ने उद्योग सञ्चालन हुन लागेको हो।
विभागका अनुसार कम्पनीले तत्कालै भूगर्भ विभागसँग समन्वय गरी काम सुरु गर्नेछ। कम्पनीको कार्यालय काठमाडौंको बिजुलीबजारमा छ। यसअघि पनि चिनियाँ लगानीका विभिन्न कम्पनीले नेपालमा सुनको सम्भाव्यताका बारेमा अध्ययन गर्न कम्पनी खोलेका थिए। गत माघमा चीनको धर्मश्री माइन नामक कम्पनीले जाजरकोटमा सुन खानीको संभाव्यता अध्ययन सुरु गरेको थियो।
जाजरकोटको खलंगा धल्ला र जगतिपुर मटेला स्थित भेरी नदीको बगरमा सुन खानीको संभाव्यता थाले पनि त्यहाँबाट केही फेला पर्न सकेको थिएन। कम्पनीले खानी तथा भुगर्भ विभागबाट सुनखानीको अध्ययन तथा अनुसन्धानको अनुमति नलिई सम्भाव्यता अनुसन्धान गर्दा विवादमा परेको थियो।
पहिलोपोष्ट, १२ चैत २०७२, ९.००
वि.सं.२०७२ चैत १२ शुक्रवार १०:५७ मा प्रकाशित