
काठमाण्डौं । वैशाखदेखि गर्ने भनिएको राष्ट्रव्यापी आन्दोलनको तयारीबारे मधेसी मोर्चाका शीर्ष नेताहरूले दूतावासमै गई भारतीय राजदूत रन्जित रेलाई सम्पूर्ण जानकारी दिएका छन् । होली पर्वका अवसरमा राजदूत रेले बिहीबार दूतावासमा बोलाएको ब्रेकफास्ट बैठकमा राजदूतको जिज्ञासापछि उनीहरूले त्यसबारे जानकारी गराएका हुन् ।
बैठकमा सहभागी मोर्चाका एक नेताका अनुसार राजदूत रेलाई अबको आन्दोलन राजधानीकेन्द्रित हुने र पहाडी जनजातिहरूको समेत सहयोगमा ठूलाठूला प्रदर्शन गर्ने योजना र तयारी रहेको जानकारी दिइएको छ । राजदूत रेले ‘तपाईंहरूले वैशाखदेखि फेरि प्रारम्भ गर्ने भनेको मधेस आन्दोलनको तयारीका बारेमा के हुँदैछर ?’ भन्ने प्रश्न गरेको मोर्चाका नेताहरूले बताए ।
राजदूतले मोर्चाको ११ बुँदे मागबारे सरकारसँग भएको प्रगतिको विवरण पनि जान्न चाहेका थिए । उनले सोधका थिए, ‘११ बुँदेबारे सरकारसँग केकस्तो गृहकार्य भइरहेको छ ?’
जबाफमा मोर्चाका नेताहरूले आफ्ना ११ बुँदे माग पूरा गर्न सरकारलाई गरेको आग्रहप्रति अहिलेसम्म सरकारबाट सकारात्मक सन्देश नआएको जानकारी दिए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका सहअध्यक्ष रामनरेश राय, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव र नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झा राजदूत रेसँगको बैठकमा सहभागी थिए ।
प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण र त्यस क्रममा बुधबार भएको १५ बुँदे संयुक्त विज्ञप्तिले नेपालमा पारेको प्रभावबारे गम्भीर देखिएका रेले पटकपटक मोर्चाको भाबी आन्दोलनबारे गहिरो चासो र जिज्ञासा राखेको स्रोतले बतायो । मधेसमा भएको ६ महिनायताको आन्दोलन, मोर्चाको आन्तरिक कलह, मोर्चाप्रति सरकारको दृष्टिकोण, प्रधानमन्त्री ओलीको मधेसीप्रतिको कटाक्ष, आन्दोलनप्रति ऐक्यबद्धता जनाउने अन्तर्राष्ट्रिय जगत्को चलखेलका कारण शिखरमा पुगेको आन्दोलन एकाएक तल झरेको टिप्पणी मोर्चाका नेताले गरेका थिए ।
तमलोपा अध्यक्ष ठाकुरले विगतको आन्दोलन एकाएक रोकिएकोमा गुनासो गरेका थिए । उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘मधेसीहरूले निर्णायक रूपमा पुर्याउन लागेको आन्दोलनमा एकाएक ब्रेक लाग्यो । मोर्चाको आन्दोलनमा ब्रेक लगाउने कार्यमा हामीभित्र र बाहिरका सहयोगी एवं शुभचिन्तकको समेत सहयोग रह्यो ।ु
राजदूत रेले तत्काल प्रतिक्रिया दिँदै भनेका थिए, ‘आफ्नो अधिकारका लागि लडाइँ आफैंले गर्ने हो । तपाईंहरूको आन्दोलनबाट भारतलाई अप्ठ्यारो पर्नु हुँदैन । सरकारसँगको वार्ता र सहमतिका लागि पनि अगाडि बढ्नुहोस् ।’
मोर्चाका अर्का एक नेताले राजदूत रेलाई होलीको शुभकामना दिँदै भनेका थिए, ‘होलीको यो शुभकामना हाम्रो नववर्षका साथ प्रारम्भ हुने आन्दोलन निर्णायक हुनका लागिसमेत कायम रहोस् । स्वरूप परिवर्तनका साथ हुने आन्दोलन निर्णायक गराउन वा मोर्चाका ११ बुँदे मागको कार्यान्वयनका लागि भारतीय प्रतिबद्धता अपरिहार्य छ ।’
‘ब्रेक फास्ट मिटिङु बाट बिदाइ हुने क्रममा मोर्चाका नेताहरूले एकसाथ रेसँग भनेका थिए, ‘सत्तारूढ दल एमाले, एमाओवादी र प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट मधेसीका माग पूरा हुँदैनन् ।’
तराई मधेस सद्भावना पार्टीका उपाध्यक्ष रायले राजदूत रेले होलीका अवसरमा आफूहरूसँग भेटी शुभकामना आदानप्रदान गरेको बताए । उनले मोर्चाको भाबी आन्दोलनका विषयमा सामान्य चर्चासम्म भएको जानकारी दिए ।
अन्नपूर्ण पोष्ट, १२ चैत २०७२, ९.००
वि.सं.२०७२ चैत १२ शुक्रवार १२:३९ मा प्रकाशित