
मोरङ । जिल्लाको मोतीपुर २ का ४५ वर्षीय प्रकाश सरदार थारू कृषिकर्मबाटै करिब चार करोड रुपैयाँ बराबरको सम्पत्तिका मालिक बनेका छन् । सामान्य परिवारका उनले खेतीपातीलाई व्यावसायीकरण गरेपछि राम्रो प्रगति हासिल गरेका हुन् ।
माछापालनबाट मात्र वार्षिक पाँच लाखभन्दा बढी आम्दानी गर्छन् । बाख्राका पाठापाठी बेचेर बर्सेनि दुई लाखभन्दा बढी कमाइ हुन्छ । दूध बेचेको आम्दानी डेढ लाखभन्दा बढी छ । वर्षभरिमा करिब एक लाखको अन्न बिक्री गर्छन् । वार्षिक करिब नौ लाख आम्दानी गर्ने उनी आफूसँग चार करोडको सम्पत्ति पुगेको बताउँछन् ।
दुई छोरीलाई पनि कृषि विषय नै पढाइरहेका छन्, एक छोरीले अनमी सकेर रोजगारी पाइसकेकी छन् । परम्परादेखि खेतीपाती गर्दै आएका उनले कुनै तालिम लिएका छैनन्, न त बैंकबाट ऋण, न कुनै संस्थाको सहयोग । अंशमा पाएको तीन बिघा बगर खेतीबाट कृषिलाई व्यावसायीकरण गरेका थारूले विराटनगरमा एउटा घडेरीसहित नौ बिघा जमिन जोडेका छन् ।
२०४५ सालबाट व्यावसायिक तरकारी खेती थालेका थिए भने ०५२ सालमा आएर भैंैसी पालन थालेका थिए । वर्षदिनयता डेढ बिघामा चार वटा पोखरी खनेर माछा पालन गरेका छन् । हालसम्म साढे तीन लाखको माछा बिक्री गरिसके । पोखरीमा अढाई लाखभन्दा बढीका भुरा हुर्किंदै छन् ।
बाख्रापालनको उनको उद्देश्य मासुभन्दा पाठापाठी बिक्री हो । उनको खोरमा अहिले उन्नत जातका ३५ वटा बाख्रा छन् । त्यससँगै छ गाईको गोठ । डेढ बिघालाई धान खेतीमा प्रयोग गरेका छन् ।
६ बिघामा कदम, सिसौ र मसलाका एक हजारभन्दा बढी बिरुवा हुर्किसकेका छन् । ती सबै आठ वर्षपछि बजारमा पुर्याउन सकिने उनले बताए । ‘लोहन्द्रा खोलाले मेरो खेत बगर बनाएको थियो । त्यहीं रूख रोपेको हुँ,’ उनले भने, ‘अहिले खोलाले जमिन कटान गर्दैन, बरु आम्दानी राम्रो हुन्छ ।’
एउटा कृषक सफल हुनका लागि वार्षिक आम्दानी मात्र पर्याप्त नहुने उनको बुझाइ छ । दैनिक, मासिक र वार्षिक आम्दानी हुने खेती गर्न सक्दा मात्र सफलता प्राप्त हुने उनले बताए । उनले आम्दानीका स्रोत पनि सोच अनुरूपकै बनाएका छन् । दूधबाट दैनिक, बाख्रा र तरकारीले मासिक तथा धानबाट वार्षिक आम्दानी हात पार्छन् ।
दैनिक १६ घण्टा खट्छन्, साथ दिएकी छन् पत्नी जेझी थारूले । धान रोपाइँबाहेकमा कामदार लगाउँदैनन् । बिदामा आएका बेला छोरीहरूले सघाउँछन् ।
स्थानीय सगरमाथा कृषि समूहका अध्यक्ष हिमलाल पाठकले उनी उदाहरणीय किसान भएको बताए । ‘उनले मेहनत गर्दा स्वदेशमै सुन फल्छ भन्ने प्रमाण दिएका छन्,’ उनले भने, ‘बजारको सहज पहुँच नहुँदा पनि एक्लो व्यक्तिले यति गर्नु सानो कुरा होइन ।’
प्रकाशित कान्तिपुर दैनिक, १९ चैत २०७२, ८.००
वि.सं.२०७२ चैत १९ शुक्रवार ११:३३ मा प्रकाशित