विद्रोही गिरी, नवलपरासी । नवलपरासीको धौवादी– ३ पोखरीमा फलाम खानीको उत्खनन्मा खटिएका जियोलोजिष्टहरुको टोली उत्साहित भएका छन् । नेपालमै ठुलो फलाम खानी भेटिएको र त्यसको बिस्तृत अध्ययन गर्दै गर्दा उनीहरु उत्साहित भएका हुन् । यत्ति ठुलो क्षेत्रमा फलाम खानी भेटिएको छ त्यसमा काम गर्दा हामीलाई उत्साह भएको छ जियोलोजिष्ट नारायण बाँस्कोटाले भने ‘यो काम गर्दा झन पछि झन उत्साह थपिदा दिन वितेको पत्तै भएको छैन ।’
फागुन २७ गते देखि पाँच जनाको समुहमा आएको यो टोलीले पोखरी क्षेत्रमा बिस्तृत अध्ययन गरेको छ । पाँच बर्ष अगाडि कोइला खानीको सम्भाब्यता अध्ययन गर्न आएको खानी तथा भूगर्भ विभागको टोलीले यस ठाउँमा फलाम खानी भएको पत्ता लगाएको थियो । बिस्तृत अध्ययन टोलीले च्यानल सेम्पलिङ्ग, टोवो जियोलोजिकल सर्वे, डिर्लिङ्ग लगाएतको काम गरिरहेको टोली प्रमुख नरेन्द्र महर्जनले बताए ।
एक महिना पुरा यस क्षेत्रमा उनीहरुले काम गर्नेछन् । उनीहरुको काम हेर्न खानी तथा भूगर्भ बिभागका महानिर्देश सर्वोजित महत्तो पनि आइसकेका छन् ।
पूर्व पश्चिमराजमार्गको ९ किलोमिटर उत्तर झ्यालबास बजार पुगेपछि त्यहाँबाट १३ किलोमिटर उत्तर पहाडमा खानी क्षेत्र पर्छ । च्यानल सेम्पलिङ्गमा ५८ प्रतिशत सम्म हेमटाइड वेर ( फलाम निकाल्ने तत्व) भेटिएको टोली प्रमुख महर्जनले बताए । ६० प्रतिशत हेमटाइड वेर उत्तम र ३० देखि ६० प्रतिशत सम्मको मध्यम खालको मानिन्छ । यहाँ मध्यम पनि धेरै राम्रो खालको छ उनले भने ‘यहाँ च्यानल ग्याप भएको छैन बाहिर मात्रै होइन भित्र सम्म छ ।’
पूर्वमा धौवादी, पश्चिममा देउरालीको नाम्जाकोट दक्षिणमा रुम्सी र उत्तरमा नरमको ल्हापे सम्म फलाम खानीको क्षेत्र फैलिएको तथ्य भेटिएको जियोलोजिष्ट बाँस्कोटाले बताए । पहिलो चरणमा वि.स.२०६७ ÷०६८ मा यहाँको किट प्रशोधन केन्द्रमा परिक्षण गर्दा फलाम भएको पुष्टि भएको थियो । १० किलोमिटर क्षेत्रमा पूर्वपश्चिम फैलिएको यो खानीबाट रु २३ खर्ब बराबरको कच्चा पदार्थ उत्पादन गर्न सकिने जियोलोजिष्टहरुले जनाएका छन् । यो नेपालकै ठुलो फलाम खानी हो ।
रुम्सी नजिकै फलामको कच्चा पदार्थ निकाल्ने गरेको गाउँलेले बताएका छन् । एक सय बर्ष अगाडि नै यहाँको कच्चा पदार्थ प्रयोग गरेको हुनसक्ने अनुमान अनुसन्धान टोलीले गरेको छ । अनुसन्धान नभएपछि हसिया , कोदालो बनाउने काममा यहाँको कालो ढुङ्गा गाउँलेले लैजाने गर्दथें धौवादी गाविसका पूर्व अध्यक्ष झविलाल रानाले भने ।
सम्भावना देखिएका ठाउँहरूमा पनि कति परिमाण र कुन गुणस्तरको फलाम छ भनेर भएको छ । कमसल धाउ (पगालेको कच्चा फलाम) सिमेन्ट उत्पादन तथा भाँडाकुँडा बनाउन प्रयोग हुने कीटका रूपमा उपयोग हुन्छ भने राम्रो र बढी प्रशोधन गरिएको फलाम स्पात, स्टील, छड इत्यादि बन्छ । सिमेन्टको क्लिङ्कर उत्पादन नेपालमै शुरू भए पनि धाउका लागि भारतमै निर्भर हुनुपरेको छ । यसको उत्खननले सिमेन्टको क्लिङ्ककरको आपुर्ती गर्ने देखिन्छ ।
२० चैत २०७२ / ७:४२
वि.सं.२०७२ चैत २० शनिवार १९:४२ मा प्रकाशित