
भीमदत्तनगर । जङ्गली जनावर मार्न पासो थापेका वेदकोट नगरपालिका–१ चम्फापुरका रोना रानाकोे आज बिहान करेन्ट लागेर मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चम्फापुरस्थित शुक्लाफाँटा वन्यजन्तु आरक्ष किनारमा स्थानीयवासीको खेतमा छाडेको बिजुलीको करेन्टसहितको पासोमा परी स्थानीयवासी ५० वर्षीया रानाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक केदार खनालले राना आफैँले थापेको पासोमा परी घटनास्थलमा नै मृत्यु भएको हो । ‘यसअघि पनि वन्यजन्तु चोरी सिकारीमा रानाको मुद्दासमेत परेको थियो’, प्रवक्ता खनालले भने–‘जनावर मार्नकै लागि पासो थापेका राना आँफै पासोमा परे ।’ रानाको शव परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पतालमा राखिएको छ ।
प्रकाशितः २०७२ चैत्र २१
वि.सं.२०७२ चैत २१ आइतवार १६:३८ मा प्रकाशित