
जाजरकोट । जाजरकोटको दशेरा गाविसको वडा नं ३ स्थित जनप्रिय उच्च माविमा एसएलसी परीक्षा दिइरहेका ६१ जना विद्यार्थीको झाडापखालाको उपचार गरिएको छ ।
परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर अधिकारीसहित चार जना शिक्षकलाई समेत झाडापखाला लागेपछि उपचारपछि स्वास्थ्य सुधार भएको अधिकारीले बताए । पखाला लागेका ५९ जनाको उपचार गरिएको जाजरकोटका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।
दशेरा स्वास्थ्य चौकी इन्चार्ज नवीना कँडेलका अनुसार फोहर पानी खाएका कारण विद्यार्थीमा झाडापखाला सङ्क्रमण देखा परेको हो । जिल्लाको सबैभन्दा बढी विद्यार्थी दशेरा परीक्षा केन्द्रमा रहेको तर पानी नहुँदा जस्तो पायो त्यस्तै खाँदा यस्तो समस्या आएको कँडेलले बताइन् ।
गाउँमा पानीको धारा नभएका कारण खोलाको पानी एक घन्टा लगाएर ड्रममा बोकेर विद्यार्थीलाई खुआउँदा यस्तो चुनौती देखिएको हो ।
झाडापखालाका बिरामीको सङ्ख्या बढ्ने हो भने औषधि पनि अभाव हुने स्वास्थ्य संस्थाले बताएको छ ।
प्रकाशितः २०७२ चैत्र २३
वि.सं.२०७२ चैत २३ मंगलवार १०:३३ मा प्रकाशित