
काठमाण्डौं । झापाको भद्रपुरबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको जहाज इन्जिनमा खराबी देखिएपछि विराटनगरमा आकस्मिक अवतरण गरिएको छ ।
शुक्रबा मध्यान्ह उडेको जहाज इन्जिनमा समस्या भएपछि विराटनगरमा अवतरण गरिएको बताइएको छ ।
भद्रपुरबाट ६८ जना यात्रु लिएर काठमाडौंका लागि उडेको फ्लाईट नम्बर ९५२ नम्बरको ७० सिटको जहाज इन्जिनमा खराबी आएपछि विराटनगरमा अवतरण गरिएको बुद्ध एअरले जनाएको छ ।
जहाजमा ६८ यात्रु, दुई जना चालक दलका सदस्य र दुई जना एअरहोस्टेज रहेका थिए । आकस्मिक रुपमा अवतरण गरिएपनि यात्रु र चालक दलका सदस्य सबै सकुशल रहेको बुद्ध एअरले जनाएको छ ।
उडानका क्रममा इन्जिनमा खराबी उत्पन्न भएर थप प्राविधिक समस्या आएका कारण जहाज आकस्मिक रुपमा ल्याण्ड गरिएको जानकारी बुद्ध एअरका विराटनगर प्रमुख कौशल भण्डारीले दिए ।
उनका अनुसार इन्जिनमा खराबी आएको चालक दलका सदस्यले थाहा पाएपछि १२ः२६ मा चन्द्रगढी विमानस्थलबाट उडेको जहाज १२ः४८ बजे विराटनगरमा अवतरण गरिएको हो।
वि.सं.२०७२ चैत २६ शुक्रवार १४:२८ मा प्रकाशित