
पर्वत । लामो समयसम्म वर्षा नहुँदा पर्वतका विभिन्न गाविसका कृषकले मकैखेती गर्न पाएका छैनन् । जिल्लामा धानपछिको दोस्रो बालीका रुपमा रहेको मकै लगाउने मौसम सकिनै लाग्दा पनि वर्षा नभएका कारण कृषकले खेतबारीमा लगाउन नपाएका हुन्।
जिल्लाका अधिकांश गाविसका कृषकले चैतको अन्तिम सातासम्म पनि मकैखेती गर्न नपाएको गुनासो गरेका छन् । सिँचाइ सुविधा पुगेका क्षेत्रमा खासै समस्या नभए पनि सिँचाइको सुविधा नभएका ठाउँमा भने समस्या भएको कृषकको गुनासो रहेको छ।
खासगरी फागुन महिनाभित्र खेतमा र चैत महिनाभित्र बारीमा मकैखेती लगाइसक्नुपर्ने भएपनि पानी नपरेका कारण कुनै पनि ठाउँमा मकै रोप्न नपाएको ठूलीपोखरीका कृषक राम सापकोटाले बताए। उनले भने – “अहिलेसम्म पानी परेको छैन । सुरुमा खेतमा अलिकति लगाएका मकै पनि उम्रिएनन् । बारीमा लगाउनै पाइएको छैन । कहिले पानी पर्ला भनेर कृषक आकाशतिरै हेरेर दिन कटाउन बाध्य छन् ।” जिल्लाको पिपलटारी, ठूलीपोखरी, आर्थर चित्रे, खौला, कार्कीनेटा, लुँखुदेउराली, पाखापानी, खानीगाउँ देवीस्थान, कटुवाचौपारी कुर्घालगायत दुई दर्जन गाविसमा मकैखेती लगाउन नपाएको कृषकले गुनासो गरेका छन्।
असोज महिनापछि एकपटक पनि वर्षा नभएकाले बाँझो जमिन जोत्नसमेत समस्या भएको लुँखुदेउरालीकी कृषक सरस्वती अधिकारीले बताइन्। उनले भनिन् – “हिउँदभरि वर्षा नै नभर बाँझो जोत्नसमेत पाइएन। के गरी मकै लगाउने ?
चैत महिनाभित्र मकैखेती रोप्न नपाए उत्पादन घट्ने र खेतमा धान रोप्नसमेत ढिलाइ हुने भएकाले उत्पादनमा असर पर्ने जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ।
यसैबीच, जिल्ला कृषि विकास कार्यालयले जिल्लाका विभिन्न क्षेत्रमा यस वर्ष १८ मेट्रिक टन मकैको बीउ वितरण गरेको छ । कृषकलाई १५ प्रतिकिलोको दरमा मकैको बीउ वितरण गरिएको हो । राम्रो उत्पादन दिनेखालको मकैको बीउ कृषकको मागअनुसार वितरण गरिएको वरिष्ठ कृषि विकास अधिकृत रेग्मीले जानकारी दिए।
पर्वतमा १४ हजार २८५ हेक्टर क्षेत्रफलमा मकैखेती हुँदै आएको छ । वार्षिक रुपमा जिल्लामा ३१ हजार १३५ मेट्रिक टन मकै उत्पादन हुने जनाइएको छ ।
प्रकाशितः २०७२ चैत्र २६
वि.सं.२०७२ चैत २६ शुक्रवार १५:०२ मा प्रकाशित