
काठमाण्डौं । संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले चीनबाट सहुलियतपूर्ण ऋण सहयोगमा जहाज ल्याउन भइरहेको ढिलाइको सत्यतथ्य जानकारी १५ दिनभित्र पेश गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अर्थ, पर्यटन मन्त्रालय र वायुसेवा निगमलाई निर्देशन दिएको छ ।
समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री आनन्द पोखरेल, पर्यटन सचिव प्रेम कुमार राई र नेपाल वायु सेवा निगमका अधिकारी सँगको छलफलपछि निगमले जहाज ल्याउन भएको ढिलाइको सत्य तथ्य जानकारी १५ दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको हो ।
नेपाल वायुसेवा निगम र चीनको एभिक इन्टरनेशनल नामक कम्पनीबीच २०६९ मंसिर १४ गते जहाज खरिदबारे सम्झौता भएको थियो। सम्झौतामा चीनले २ वटा जहाज चीन सरकारले अनुदानमा दिने र ४ वटा सहुलियतपूर्ण ऋणमा दिने उल्लेख गरिएको थियो।
ती मध्ये अनुदानमा दिइएका दुईवटा जहाज नेपाल आइसकेका छन् भने सहुलियतपूर्ण ऋणमा जहाज ल्याउन भने ढिला भइरहेकोछ ।
२८ चैत २०७२, ४.००
वि.सं.२०७२ चैत २८ आइतवार १७:२६ मा प्रकाशित