
काठमाडौं । काठमाडौंमा आयोजित दक्षिण एसियाली क्षेत्रिय सहयोग संगठन सार्कको १८ औँ शिखर सम्मेलनका लागि सुरक्षासामग्री खरिदमा सरकारका प्रमुख तीन सुरक्षा निकायले आर्थिक अनियमितता गरेको पाइएको छ।
डेढ वर्षअघि सम्पन्न सम्मेलन सुरक्षा जिम्मेवारी पाएका नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले करोडौं रुपैयाँ अनियमितता गरेको महालेखा परीक्षकको कार्यालयले जनाएको छ।
सम्मेलनका लागि खरिद गरिएको भनिएका कतिपय सामग्री सरोकारवाला निकायले सम्मेलन सम्पन्न भएको एक वर्षपछि मात्र प्राप्त गरेको र केहीले अझै ती सामग्री नबुझेको पनि कार्यालयले सोमबार जारी गरेको ५३ औँ वार्षिक प्रतिवेदनमा उल्लेख छ।
सार्क सम्मेलन लक्षित सामग्री हालसम्म प्राप्त नगर्दा पनि यी निकायले सम्झौता रद्द गरेका छैनन्। तत्कालीन मन्त्रिपरिषद बैठकले सार्क सम्मेलन तयारीका लागि २०७१ कात्तिक २५ भित्र आवश्यक सामग्री आपूर्ति गरिसक्नु पर्ने निर्णय गरेको थियो।
२०७१ असार २० को मन्त्रिपरिषद निर्णयअनुसार त्यही वर्षको मंसिर १०–११ सम्म चलेको सम्मेलनका लागि १० वटा मन्त्रालयले २ अर्ब ५ करोड २१ दाख रुपैयाँ खर्च गरेका थिए।
नेपाली सेनाले सम्मेलनकै लागि सिंगापुरको एक कम्पनीसँग १ करोड ४४ लाख ६५ हजार मूल्यका उपकरण खरिद गर्न सम्झौता गरेको थियो। नागरिक दैनिकमा खबर छ।
प्रकाशितः २०७३ वैशाख १
वि.सं.२०७३ वैशाख १ बुधवार १०:०० मा प्रकाशित