
मुस्ताङ । जिविस मुस्ताङले दुई पर्यटकीय जिल्ला मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने योजना अघि सारेको छ।
राउन्ड अन्नपूर्ण पदमार्ग अन्तर्गतपर्ने यी दुई जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकले ५४ सय मिटरको उँचाइमा अवस्थित थोराङला पास हुँदै आवतजावत गरिरहेका छन्। हिउँदको याममा भारी वर्षा हुने भएकाले यो रुट पूर्णरुपमा बन्द हुन्छ।
सडक सञ्जालमा जोड्न सकेमा यहाँ पर्यटक आवागमन बढ्ने अपेक्षा गरिएको छ । स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले मनाङ र मुस्ताङलाई सडक सञ्जालमा जोड्ने काम अघि बढेको जानकारी दिए। अहिले पर्यटक ओहोरदोहोर गर्ने रुटबाट सम्भव नभए पनि सडक विस्तारका लागि विस्तृत अध्ययन भइरहेको छ।
जिविसले मुक्तिनाथ गाविसमध्ये ताङयाबाट मनाङको नारफु जोड्ने सडक विस्तार गर्न बजेट माग गरेको छ । ‘सडक निर्माण गर्न रु ८० लाख माग गरेका छौँ’ उनले भने। मुस्ताङका भू–बनोट, धार्मिक पर्यटकीयस्थल तथा लोमान्थाङ भ्रमणमा जाने मनाङका पर्यटकलाई सडक सञ्जालले सहयोग पुर्याउनेछ ।
२ बैशाख २०७२, १०.००
वि.सं.२०७३ वैशाख २ बिहीवार ११:०२ मा प्रकाशित