
काठमाडौँ । नेपाल सरकारको छात्रवृत्ति पाएर टर्कीको अन्कारामा एमबीबीएस अध्ययन गर्न गएका एक नेपाली युवालाई टर्की सरकारले बालरोग तथ नवजात शिशु चिकित्साका क्षेत्रमा विशिष्ट सेवा पुऱ्याएवापत ‘बर्ष चिकित्सक’का रुपमा सम्मानित गरेको छ ।
सन् २००० मा टर्की गएका सिरहा गोलबजारका विनोदकुमार शाह पढाई पस्चात अन्कारास्थित लोकमान हेकिम हस्पिटलमा सेवारत थिए । अन्कारा युनिभर्सिटीबाट बालरोग तथा नवजात शिशु स्याहारमा एमबीबीएस र एमडी गरेपछि साह अध्ययनअनुसारको चिकित्सा सेवामा थिए । टर्कीको स्वास्थ्य मन्त्रालयले हरेक बर्ष गर्ने चिकित्सकीय सर्वेक्षणमा वालरोग तथा नवजात शिशु उपचार क्षेत्रमा शाहलाई बर्ष २०१५ को उत्कृष्ट चिकित्सकको सम्मान दिएको हो । टर्कीका राष्ट्रपति एवं प्रधानमन्त्रीको उपस्थितिमा त्यहाँका स्वास्थ्यमन्त्रीले प्रदान गर्ने उत्कृष्ट चिकित्सकको सम्मानलाई सामाजिक क्षेत्रमा राष्ट्रले दिने विशिष्ट पहिचान मान्ने गरिएको छ ।
३८ वर्षीय साहले आफ्नो निमाबि तहको पढाइ गोलबजार गाउँकै जनता माध्यमिक विद्यालयबाट पुरा गरेका थिए भने त्यसपछि विराटनगरको सेन्ट जोसेफ स्कुलबाट एसएसलसी गरेका थिए । उनले अमृत साइन्स क्याम्पसबाट आइएसी पढाइ पुरा गरेर एमबीबीएस पढाइमा सरकारी छात्रवृत्तिमा स्पर्धा गरेका थिए ।
३ बैशाख २०७३ / ११:२९
वि.सं.२०७३ वैशाख ३ शुक्रवार ११:३२ मा प्रकाशित