
काठमाण्डौं । पछिल्लो दुई सातामा भारतमा खाद्यान्नको मूल्य बढेपछि त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ । बजारमा दाल, चामल र खानेतेलको मूल्य अस्वभाविक रुपमा बढेको छ ।
अहिले मुसुरोको दाल प्रतिकिलो २५ रुपैयाँले बढेर १ सय ५० रुपैयाँ पुगेको छ भने मासको दाल पनि २५ रुपैयाँले बढेको छ । नेपाली मासको दाल किलोको २ सय ५० र भारतीय २ सय ३० रुपैयाँ पुगेको छ । रहर दाल समेत किलोमा २५ रुपैयाँ बढेर २ सय ५० पुगेको छ । चनाको मूल्य समेत किलोमा १५ रुपैयाँ बढेको छ ।
सनफ्लावर तेलको मूल्य लिटरमा २० रुपैयाँ बढेको छ । सफारी र मेरीगोल्ड ब्राण्डका सनफ्लवार तेलको मूल्य लिटरमा २० रुपैयाँ बढेर १ सय ६० रुपैयाँ पुगेको छ । धारा हेल्थ सनफ्लवारको मूल्य दुई सय रुपैयाँ छ भने फेमिली सनफ्लवार तेलको मूल्य स्थिर छ । चामलको मूल्य प्रतिकिलो २ देखि ३ रुपैयाँसम्म बढेको छ ।
भारतमा परेको खडेरीले त्यहाँ नै प्रतिक्विन्टल चामलमा दुई सय भारुसम्म मूल्य बढेकोले त्यसको प्रत्यक्ष असर नेपालमा परेको हो ।
६ बैशाख २०७३, ११।००
वि.सं.२०७३ वैशाख ६ सोमवार ११:५६ मा प्रकाशित