
काठमाण्डौं । एप्पल कम्पनीले आफ्नो सर्वाधिक लोकप्रिय ग्याजेट आइफोनको उत्पादन घटाउने तयारीमा लागेको छ । बिक्रिमा आएको गिरावट सँगै एप्पलले जून महिनामा सकिने चालु दोश्रो त्रैमासिकमा आइफोन उत्पादनमा कटौती गर्ने बताइएको छ ।
निक्केइ बिजनेस जर्नलका अनुसार एप्पलले आइफोनका लागि विभिन्न पार्टस् उत्पादन गर्ने कम्पनीहरुलाई आइफोन उत्पादन कटौतीको विषयमा जानकारी गराइसकेको छ । यो सँगै एप्पलले हालैमात्र लन्च भएको एप्पल एस इ ठूलो परिमाणमा उत्पादन गर्नेछैन ।
एप्पललको बिक्रिमा आएको गिरावटको रिपोर्टसँगै एप्पललको शेयर मूल्यमा पनि हालै गिरावट देखिएको छ । एप्पललको मात्र होइन एपपललाई पार्टस् उत्पादन तथा आपूर्ति गर्ने अन्य कम्पनीहरुको शेयर मूल्यमा पनि त्यसले असर पारेको छ ।
गत जनवरीमा प्रकाशित रिपोर्टमा समेत एप्पलले पहिलो त्रैमासिकमा आइफोन सिक्स एस तथा सिक्स एस प्लसको उत्पादन ३० प्रतिशतले कटौती गर्न सक्ने जनाइएको थियो ।
तर दोश्रो त्रैमासिकमा भने उत्पादन पुनः बढेर सामान्य अवस्थामा आउने विश्वास गरिएको थियो । उतिबेला एप्पलले पहिलो त्रैमासिकमा कम्पनीको आयमा पनि केही कमी आउने आशंका गरेको थियो । वास्तवमा एप्पलले १३ वर्षमा पहिलोपटक यसरी आफ्नो आयमा गिरावट आउने आशंका गरिरहेको थियो, त्यसबखत ।
चिनिया बजारमा स्थानीय सस्ता स्मार्टफोनका कारण एप्पलका आइफोनहरुको बिक्रिमा आएको भारी गिरावट यसको मुख्य कारण मानिएको छ ।
जापान लगायत विभिन्न देशमा रहेका आफ्ना सप्लायर्सहरुलाई एप्पलले आइफोनको उत्पादन कटौती गर्ने विषयमा जानकारी गराइसकेको बताइएपछि यस बारेमा एप्पलले आधिकारिक रुपमा कुनै प्रतिक्रिया दिएको छैन ।
प्रकाशितः एजेन्सी,२०७२ वैशाख ६
वि.सं.२०७३ वैशाख ६ सोमवार १४:४२ मा प्रकाशित