
काठमाण्डौं । नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरुले सरकारले पुनर्निर्माणको अनुमति नदिए यहाँ आउने सहयोग विपद प्रभावित अरु मुलुकतिर जानसक्ने चेतावनी दिएका छन्।
भूकम्प प्रभावितको घर पुनर्निर्माणका लागि आइएनजिओहरुले आउँदो २ देखि ५ वर्षका लागि झण्डै २३ करोड अमेरिकी डलर (२३ अर्ब भन्दा बढी नेपाली रुपैयाँ) को कार्यक्रमको तयारी गरेका छन्। आज बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा नेपालमा काम गर्ने अन्तर्राष्ट्रिय गैर सरकारी संस्था संघकी निमित्त अध्यक्ष सारा ब्लिनले काम गर्ने वातावरण नभए रकम फिर्ता हुन सक्ने बताइन्।
वैशाख १२ गतेको भूकम्प गएपछि पीडितको उद्दार र राहतका लागि नेपालमा काम गर्ने १३० वटा आइएनजिओले धेरैथोरै काम गरेका छन्। ती आइएनजिओहरुले अस्थायी आवास निर्माण, स्वास्थ्य, शिक्षा, खानेपानी र सरसफाइ तथा जीविकोपार्जनका लागि काम गरेका छन्। भूकम्प गएपछिको ६ महिनामा आइएनजिओहरुले २० करोड अमेरिकी डलर अर्थात २० अर्ब रुपैयाँ खर्च गरेको पनि कार्यक्रममा बताइएको थियो ।
भूकम्पप्रभावित क्षेत्रमा काम गरिरहेका ती संस्थाहरुले राहत र पुनर्स्थापनाको काममा सरकारले सहयोग गरेपनि पुनर्निर्माणका लागि जटिलता थपेको भन्दै सहज वातावरण नभए सहयोग अन्तै जानसक्ने बताएका हुन्।
९ बैशाख २०७३, २.००
वि.सं.२०७३ वैशाख ९ बिहीवार १४:३१ मा प्रकाशित