
काठमाडौं । फेसबुकबाट चिनजान गरी प्रेमको नाटक गरी ठगी गर्ने जीवन तामाङ भन्ने मनबहादुर तामाङ जेल चलान भएका छन् । काठमाडौं जिल्ला अदालतले तामाङलाई बुधबार पुर्पक्षका लागि कारागार चलान गरेको हो ।
उनले २३ युवतीलाई बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेका थिए । आकस्मिक रूपमा पैसा आवश्यक परेको नाटक गरेर पैसा लिई उनी बेपत्ता हुने गरेका थिए । उनले युवतीहरूबाट करिब एक करोड रुपैयाँ ठगी गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रवीन्द्र रेग्मीले बताए ।
तामाङ पहिलेदेखि नै नामुद ठग
पक्राउ परेका तामाङले पहिला अमेरिकन आर्मीसँग अफगानिस्तानमा बसेर काम गरेका थिए । सोही आधारमा आफ्नो ठूलो पहुँच भएको भन्दै ठगी गरेका थिए । तर, उनी पहिलेदेखि नै नामुद ठग भएको प्रहरी अधिकारीहरू बताउँछन् । दुई वर्षअघि युवाहरूलाई अफगानिस्तान पठाउने भन्दै ठगी गरेको मुद्दामा परी छुटेका थिए । नयाँ पत्रिका दैनिकमा खबर छ ।
प्रकाशितः २०७३ वैशाख १०
वि.सं.२०७३ वैशाख १० शुक्रवार ०९:५८ मा प्रकाशित