
पाल्पा । लामो खडेरीले तरकारी बाली सुक्न थालेपछि जिल्लाको डाँडाभेगका किसान चिन्तामा परेका छन्।
प्रर्याप्त सिँचाइ सुविधा नहुँदा जिल्लामा व्यावसायिक रुपमा तरकारी खेती गर्ने किसान बोट नै सुक्न थालेपछि मारमा परेका हुन्। खडेरीले यहाँ लगाइएका लहरे तरकारी बाली सुक्दै गएका छन्। अर्काको जग्गा भाडामा लिएर व्यवसाय गरेका किसानको लागत नउठ्ने पिर परेको छ।
रामपुर– १० जाउने खरकका अगुवा किसान सूर्यप्रसाद रेग्मीले पाँच रोपनी जग्गामा लगाएको तरकारी सुकेपछि उनलाई लागत कसरी उठाउने भन्ने चिन्ताले सताउन थालेको छ । “पानीको मूल स्रोत गाउँमा नहुँदा तरकारी घामले दिन प्रतिदिन सुक्दै गएका छन्,” उनले भने। रेग्मीले गतवर्ष तीन लाखको तरकारी बिक्री गरेका थिए।
युवा किसान मिनु थापा जापानको भिसा त्यागेर तरकारी खेतीमा लागे। गत वर्ष राम्रै आम्दानी भए पनि यस वर्ष खडेरीले लगानी उठ्न मुश्किल भएको उनी बताउँछन्। यहाँका युवाले तरकारी उत्पादन गरी मनग्य कमाई गर्न थालेपनि अहिले खडेरीका कारण निराशा बनेका छन्।
यस्तै पार्वती न्यौपानेले ६ रोपनी जग्गामा लगाएको तरकारी सिँचाइ गर्न नपाउँदा बोट नै सुक्न थालेका बताउँछन्। विद्युतको सुविधा भएका ठाउँमा मोटरबाट पानी तानेर सिँचाइ गरेपनि डाँडाभेगका किसान खडेरीको मारमा परेका छन्।
प्रकाशितः २०७३ वैशाख १०
वि.सं.२०७३ वैशाख १० शुक्रवार १५:४८ मा प्रकाशित