
राजविराज । विद्युत् चोरी र ‘हुकिङ’ नियन्त्रण अभियानअन्तर्गत सप्तरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने दुई दर्जन व्यक्ति पक्राउ परेका छन् ।
नेपाल विद्युत् प्राधिकरण शाखा राजविराज वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्तरुपमा जिल्लाभर खटिएको अनुगमन टोलीले एकै दिन दुई दर्जन व्यक्तिलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए ।
पक्राउ पर्नेमा जिल्लाको जमुनिमधेपुरा गाविस ५ का अभिलास रजक, जुगाई रजक, रायपुर गाविस ६ का शिवनारायण यादव, पोखरिया ८ का जगु महतो, पर्साही ८ बस्ने शैलेन्द्र साह, पथ्थरगाडा ५ बस्ने भुवनेश्व झा, रमानन्द ठाकुर, गौइठी ६ बस्ने देव किसुन सदा र राजविराज नगरपालिका ५ का विजयकुमार चौधरीलगायत दुई दर्जन व्यक्ति रहेको विद्युत् प्राधिकरण राजविराजले जनाएको छ । उनीहरुलाई विद्युत् हुकिङ गरी चोरी गरेको आरोपमा नियन्त्रणमा लिएको बताइएको छ ।
पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको र उनीहरुविरुद्ध विद्युत् ऐनअनुसार कारबाही गरिने प्रहरीले बताएको छ ।
प्रकाशितः २०७३ वैशाख ११
वि.सं.२०७३ वैशाख ११ शनिवार १४:२९ मा प्रकाशित