
काठमाडौँ । दशा लागेपछि मानिसलाई गाईको बाच्छाले समेत लखेट्न थाल्छ भन्ने उक्ति सभासद् एवम् पूर्वफुटबल खेलाडी गणेश थापाको जीवनमा पनि चरितार्थ भएको छ । गणेश थापाले सार्वजनिक स्थलमा एक व्यक्तिको थप्पड खाएपछि उक्त उक्ति चरितार्थ भएको ठानिएको हो । अहिले गणेश थापाले उनीसम्बद्ध राप्रपा नेपालकै कार्यकर्ताबाट पिटाइ खाएको जानकारी प्राप्त भएको छ ।
जानकारीअनुसार गणेश थापा आफ्नो एक नातेदारको मृत्यु भएपछि अन्त्येष्टिका लागि चैत २९ गते सोमबार राति पशुपतिस्थित आर्यघाट पुगेका थिए । एकातिर आफन्तको लाश जल्दै थियो अर्कोतिर गणेश थापा केही मानिस (मलामी आएका) हरूसँग गफिँदै थिए । गफिँदै गर्दा गणेशको अघिल्तिर एक युवा उभिन आइपुगे र आउनेबित्तिकै उनले गणेश थापामाथि लगातार तीन थप्पड प्रहार गरे । अचानक भएको आक्रमणको उनले सामना गर्न सकेनन्, ढुनमुनिँदै पछि हटे ।
त्यसपछि थापाका शुभचिन्तकहरू आक्रमणकारीमाथि जाइलागे । सबैले एउटा व्यक्तिमाथि प्रहार गर्न थालेपछि मरिहाल्यो भने त्यसको दोष आफैँमाथि आउने देखेर गणेश थापा आक्रमणकारी भएको ठाउँमा पुगे र आफ्ना शुभचिन्तकहरूलाई सम्झाइबुझाई गर्न थाले । थापाले अलिक जोड जबर्जस्ती गरेपछि उनका शुभचिन्तकहरूले आक्रमणकारीलाई कुटपिट गर्न छोडेका थिए ।
त्यसक्रममा त्यहाँ कसैले गणेश दाइलाई तैंले किन कुटपिट गरिस् भन्ने प्रश्न गर्दा ‘आफूले गणेश दाइलाई पिट्न चाहेको होइन, कमल थापा भनेर ठोकेको’ भनी ती आक्रमणकारीले जवाफ दिएका थिए । ‘हिन्दूराष्ट्र बनाउने भन्ने कमल थापाले इसाईहरूको पैसा खाएर माओवादी–एमालेसँग मिल्न गएको’ उनको भनाइ थियो । ‘कमलेले पहिले राजालाई धोखा दियो अहिले जनतालाई धोखा दिएको छ, त्यसलाई त मैले एक न एक दिन पिट्नैपर्छ, तर भाइचाहिँलाई पिट्ने मेरो सोचाइ थिएन, रातको समय पर्यो, ठूलो–ठूलो कुरा गर्दै थियो, पक्कै कमल थापा हुनुपर्छ भन्ने लागेर ठोकेको भाइचाहिँ परेछ’ आक्रमणकारी युवाले आफ्ना साथीहरूसँग भन्ने गरेका छन् ।
त्यसरी कमल थापा भन्ने ठानेर गणेश थापामाथि आक्रमण गरेको दाबी गर्ने व्यक्ति ललितपुर ढोलाहिटीका मधुसुदन महत भएको बुझिएको छ । मधुसुदन राप्रपा नेपालका कार्यकर्ता भएको, तर उनी केशरबहादुर विष्टको समर्थक रहेको जानकारीमा आएको छ । यतिबेला महत भने प्रहरी हिरासतमा रहेका छन् । एक जानकारीअनुसार केही दिन थुनेपछि गणेश थापाले महतलाई हिरासतमुक्त गर्न पहल गर्ने भएका छन् ।
प्रकाशितः २०७३ वैशाख १०
वि.सं.२०७३ वैशाख १४ मंगलवार ०७:०४ मा प्रकाशित