
नवलपरासी । हराएकी एक वृद्धाको सामाजिक सञ्जाल फेसबुकका कारण परिवारसँग पुनर्मिलन भएको छ ।
नवलपरासी धौबादी–७ शङ्खदेव टोलकी ८४ वर्षीया इन्द्रकला पाण्डेको यसरी उद्धार भई फेसबुकमार्फत परिवार भेटेर पुनर्मिलन गराइएको हो । मानव सेवा आश्रम चितवनले यही वैशाख ४ गते उद्धार गरेकी वृद्धालाई फेसबुकमार्फत परिवार पत्ता लागेपछि पुनर्मिलन गराइएको आश्रमकी अभियन्ता रुपा केसीले जानकारी दिइन् ।
फेसबुकको माध्यमबाट आफ्नी हजुरआमा आश्रममा रहेको थाहा पाएपछि लिन आएको नाति पुण्यप्रसाद पाण्डेले मङ्गलबार पुनर्मिलनका क्रममा बताए । मानव सेवा आश्रमले उनलाई भेटेपछि फेसबुकमा तस्बिरसहित जानकारी राखेको थियो । सोही जानकारीका आधारमा खोजी गर्दा हजुरआमालाई फेला पारेको पुण्यप्रसादले बताए ।
इन्द्रकला घरमा कोही नभएको बेला वैशाख १ गते निस्किएकी थिइन् । पुण्य प्रसादका अनुसार उनी यसअघि पनि ६ पटक हराइसकेकी छन् ।
विभिन्न ठाउँमा गएर खोजी गरी घर ल्याउने गरिएको पुण्य प्रसादको भनाइ छ । अहिले धेरै ठाउँमा खोजी गर्दा भेटिएको थिएन । बारा जितपुर घर हो भन्दै भरतपुर अस्पतालअगाडि गम्भीर घाइते अवस्थामा रहेका बेला नारायणगढ पुल्चोक निवासी अस्मिता गुरुङले इन्द्रकलालाई फेला पारेकी थिइन् ।
त्यसपछि वैशाख ४ गते नै आश्रममा ल्याइएको थियो । इन्द्रकलाको निधार तथा दाहिने आँखावरपर गहिरो घाउ लागेको अवस्थामा उद्धार गरिएको अभियन्ता सिर्जना ओलीले बताइन् । उपचार पछि सबै घाउ ठीक भएको उनको भनाइ छ ।
वि.सं.२०७३ वैशाख १५ बुधवार ११:२९ मा प्रकाशित