
रामपुर । रामपुरका कृषकले यस वर्ष खेडेरीका कारण अहिलेसम्म मकै छर्न पाएका छैनन् ।
मकै छर्न नपाएपछि यहाँका कृषकलाई परिवारको लालनपालन कसरी गर्ने भन्ने चिन्ता परेको छ । “बर्सेनि मकै बेचेर घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउन सजिलो भएको थियो, यस पटक बारी बाझै छ” रामपुरका कृषक भुमप्रसाद सिँजालीले भने । उनले १५ रोपनी बारीमा मकै छर्न पाएका छैनन् ।
यस्तै लीलबहादुर सिँजालीको १२ रोपनी तथा मीनबहादुर सिँजालीले १० रोपनी जग्गा बाझै छ । यस वर्ष मकै छर्न ढिला भइसकेकाले उत्पादनमा कमी आउने उनीहरुलाई चिन्ता छ ।
जिल्लामा २१ हजार ५७० हेक्टर क्षेत्रफलमा मकैखेती गरिन्छ । वर्षाको अभावमा मकैखेती गरिने १९ हजार हेक्टर बारी बाझै रहँदा यहाँका कृषक मारमा परेका हुन् ।
जिल्लामा मकैखेती गर्ने बारीमा मकैको वार्षिक उत्पादन सरदर ४५ हजार ६०० मेट्रिक टन रहेको कृषि प्रसार अधिकृत वैकुण्ठनाथ खनालले बताए । छरेको पानी नपर्दा उम्रेको छैन भने कतिपय कृषकले अहिलेसम्म मकै छर्न पाएका छैनन् ।
प्रकाशितः २०७३ वैशाख १६
वि.सं.२०७३ वैशाख १६ बिहीवार १३:२७ मा प्रकाशित