
काठमाण्डौं । भूकम्पबाट क्षतिग्रस्त भएको रानीपोखरीको पुनर्निर्माणका लागि रानीपोखरीको पानी सुकाउने काम सुरु भएको छ । वि.सं. १६७० मा राजा प्रताप मल्लले निर्माण गराएको रानीपोखरी गत बैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको थियो ।
स्थानीयहरु रानीपोखरी एक बाँस बराबर गहिरो रहेको दावी गर्छन् भने सरकारी अधिकारीहरु ७ फिटसम्म गहिरो हुनसक्ने बताउँछन् । अब पोेखरीको सबै हिलो निकालेर मात्रै त्यसमा नयाँ पानी भरिनेछ । रानीपोखरीलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने महानगरको योजना छ ।
रानीपोखरी पुनर्निर्माणका लागि ६ करोड २९ लाख रुपैयाँमा ठेक्का दिइएको छ । निर्माणको जिम्मा वर्ल्डवाइड कँडेल केएनकेजी जेभी कम्पनीले लिएका छन् । महानगरपालिकाका अनुसार आगामी असोजसम्म रानीपोखरीको पुनर्निर्माण सकिएर यसले पुनर्जीवन पाउनेछ । गत माघ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले यसको शिलान्यास गर्दै पुनर्निर्माण महाअभियान सुरु गरेकी थिइन् ।
१७ बैशाख २०७३, १.००
वि.सं.२०७३ वैशाख १७ शुक्रवार १३:४२ मा प्रकाशित