
रुकुम । भौगोलिक रुपमा निकै कठिन सिस्ने हिमाल पुग्ने पदमार्ग निमार्ण कार्य द्रुत गतिमा अगाडि बढाइएको छ ।
जसअन्तर्गत आगामी आव २०७३/७४ मा प्वाङ गाविसको लैपादेखि गुप्ता दहसम्म पर्यटन पदमार्ग निर्माण हुनेछ । रुकुमकोट–छिपखोला–प्वाङ लैपा–गुप्तादह–पाथीभरा हुँदै सिस्ने हिमाल बेस क्याम्पसम्मको पर्यटन पदमार्ग निर्माण गर्न लागिएको हो ।
काञ्जिरोवा हिमशृङ्खलाअन्तर्गत पर्ने रुकुमको सिस्ने हिमाल समुद्री सतहदेखि ६ हजार ५५१ मिटर उचाइमा अवस्थित छ । कडा चट्टानबाट निर्मित सिस्ने हिमाल आरोहण गर्न निक्कै गाह्रो हुने आरोहीले बताउँछन् ।
सिस्ने हिमालको बेस क्याम्पसम्म जाने बाटो निर्माणका साथै बाटोमा घरबास सञ्चालन, पर्यटकलाई पर्याप्त सुरक्षाको व्यवस्था नहुनुलगायत पर्वतारोहीको मुख्य समस्या हो ।
यो पदमार्ग निर्माण भएमा सिस्ने पदमार्गअन्तर्गत पर्ने स्यार्पुताल, कमलताल, सानोभेरी, तातोपानी कुण्डलगायतका थुप्रै पर्यटकीय स्थलको पहिचान, विकास र प्रवद्र्धनमा समेत टेवा पुग्ने स्थानीयको अपेक्षा छ ।
सिस्ने हिमालको विसं २०७० जेठमा पर्वतारोही मनबहादुर खत्री नेतृत्वको आठ सदस्यीय दलले सफल आरोहण गरेको थियो ।
प्रकाशितः २०७३ वैशाख १८
वि.सं.२०७३ वैशाख १८ शनिवार १२:४९ मा प्रकाशित