
काठमाण्डौं । नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले सरकारको नीति तथा कार्यक्रममा विद्यार्थीमैत्री बजेटको व्यवस्था गर्नुपर्ने माग गरेको छ ।
सङ्गठनले विद्यार्थीलाई शैक्षिक योग्यताका आधारमा रोजगारीका लागि ऋणको व्यवस्था गर्न माग गर्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाको आज ध्यानाकर्षण गराएको हो । प्रवीणता प्रमाणपत्र उत्तीर्णलाई रु पाँच लाख, स्नातक तह उत्तीर्णलाई रु सात लाख र स्नातकोत्तर तह उत्तीर्णलाई रु दश लाख ऋण दिनुपर्ने माग गरिएको युनियनका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो ।
उक्त ध्यानाकर्षणपत्र बुझ्दै उपाध्यक्ष डा खतिवडाले विद्यार्थीलाई ऋण दिनका लागि सम्बन्धित विज्ञसँग छलफल गरी सोही अनुसारको मापदण्ड बनाइने र सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
२२ बैशाख २०७३, २।००
वि.सं.२०७३ वैशाख २२ बुधवार १६:४० मा प्रकाशित