
गोरखा । माता तिर्थऔंशीको दिनमा पनि गोरखाको यातायात बन्द भएपछि माइती निस्केका चेली हिँडेरै गन्तव्यतिर जानुपर्ने बाध्यता छ । यसले गर्दा आमाको मुख हेर्न माइत जाने चेली र विभिन्न प्रशासनिक कामले सदरमुकाम आउनुपर्ने ग्रामीण भेगका सेवाग्राही मर्कामा परेका छन् ।
दुई/चार घन्टा हिँडेर माइत पुगिने ठाउँका चेली आमाको मुख हेर्न हिँडेरै गए भने जिल्लाबाहिर माइतीघर हुने गन्तव्यतिर जान नपाउँदा दुःखी देखिन्छन् । यातायात व्यवसायी समिति गोरखा र पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बिहीबारदेखि अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेको हो । गत वैशाख २१ गते गोरखाको आरुघाटबाट पक्राउ परेका आफ्ना २३ जना व्यवसायीलाई प्रहरीले छाड्नुपर्ने माग राख्दै समितिले बन्द आह्वान गर्दा सार्वजनिक यातायात ठप्प भएको छ ।
सिन्डिकेटले निरन्तरता पाउनुपर्ने मागसहित यातायात व्यवसायी समिति गोरखाले गरेको बन्द कार्यक्रमलाई पृथ्वीराजमार्ग बस सञ्चालक समितिले पनि समर्थन गरेको छ । आरुघाट क्षेत्रमा आरुघाट प्रालिले सञ्चालनमा ल्याएको बस तोडफोडमा उत्रिएका व्यवसायीलाई प्रहरीले पक्राउ गरी सार्वजानिक मुद्दा दर्ता गरी कारबाही गरेको छ ।
प्रहरीले आफ्ना निर्दोष व्यवसायीलाई पक्राउ गरी मुद्दा लगाएको विरोधमा यातायात बन्द गर्नुपरेको समितिका अध्यक्ष रामहरि केसीले बताए । व्यवसायीलाई बिना सर्त रिहाइ नगरेसम्म यातायात बन्द गरिराख्ने केसीको भनाइ छ ।
यातायात व्यवसायी समिति गोरखाले ग्रामीण रुटमा सिन्डिकेट लाद्दै आएको छ । आरुघाट प्रालिले सिन्डिकेट तोड्दै बस सञ्चालनमा ल्याएपछि यसअघि पनि पटक–पटक झडप भएकोे थियो । यातायात ठप्प हुँदा दुवै समितिका करिब ५०० ओटा बस बसपार्कमा पार्किङ गरिएको छ ।
प्रजिअ नारायणप्रसाद भट्टले यातायात बन्द गरेर व्यवसायीसँग वार्ता गर्न नसकिने प्रतिक्रिया दिए । “सार्वजनिक यातायात ठप्प पारेर जनतालाई दुःख दिइरहने हो भने वार्ता गर्नुको औचित्य छैन”, उनले भने ।
२४ वैशाख २०७३
वि.सं.२०७३ वैशाख २४ शुक्रवार ११:०४ मा प्रकाशित