
डडेल्धुरा । तरकारी खेतीतर्फ आकर्षित बनेका किसान लामो समयपछि पानी पर्दा हर्षित भएका छन्।
खडेरीका कारण तरकारी सुक्न लागेपछि उनीहरु चिन्तित बनेका थिए। यहाँका धेरै जसो कृषकले तरकारी व्यवसायले परिवारको खर्च धान्दै आएका छन्। तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि जिल्लामा अधिकांश महिला तरकारी उत्पादनमा लागेका छन्।
सरकार र विभिन्न गैरसरकारी संस्थाको सहयोगमा महिलाहरु एकल र समूह बनाएर व्यावसायिक रुपमा तरकारी उत्पादनमा लागेका छन् भने उनीहरु आत्मनिर्भर समेत बन्दै गएका छन्। ‘सिखर समैजी’ बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडक विष्ट सिँचाइको सुविधा नहुँदा आलु, मुला, गाजर, रामतोरिया, लौका, करेला, गोलभेँडालगायत तरकारी सुक्न थालेका बेलामा पानी परेपछि राहत मिलेको बताउँछन्।
जिल्लाका समैजी, पोखरा, कैलपालमाडौं, बगरकोट, आलिताल, अमरगढी नगरपालिका क्षेत्रमा व्यावसायिक तरकारी खेती गरिँदै आएको छ। जिल्लामा उत्पादन गरिएको तरकारी कैलाली, बैतडी, बझाङ, दार्चुला, अछामलगायत जिल्लामा निर्यात हुँदै आएको छ।
२६ बैशाख २०७३, २।००
वि.सं.२०७३ वैशाख २६ आइतवार १५:५६ मा प्रकाशित