
पाल्पा । मस्याम गाविस– ७ डुम्रेका कृषक गोपाल जिसीले दूध बेचेर मासिक रु एक लाख बढी आम्दानी गरिरहेका छन् ।
जिल्लाकै नमुना व्यवसायीका रुपमा चिनिएका जिसीले सहकारीबाट रु तीन लाख ऋण झिकेर मुनाल गाईफार्म सञ्चालन गरेका छन् । उनले विसं २०६४ मा रु पाँच लाखबाट सुरु गरेको फार्ममा अहिले रु १५ लाख बराबरको लगानी रहेको छ । हाल फार्ममा १८ होलस्टिन र जर्सी जातको माउ गाई रहेका छन् ।
दैनिक १०० देखि १५० लिटरसम्म दूध बिक्री गर्दै आएका जिसीले दुई जनालाई रोजगारी समेत प्रदान गरेका छन् । उनले दूध बिक्री गरेको कमाइले रु २५ लाखमा पक्की घर तथा रु १० लाखमा दुई रोपनी जग्गा समेत जोडेका छन् । विभिन्न सहकारी तथा बैंकमा रु आठ लाख बढी रकम बचत पनि गरेका छन् ।
“कमाउन नसक्दा बाआमाले घरनिकाला गर्नुभयो,” उनले भने “व्यवसाय गर्न धेरैसँग ऋण मागे, कसैले विश्वास गरेनन्, अन्तिममा सहकारीबाट ऋण झिकेर व्यवसाय सुरु गरे ।” आफ्नै मेहनत र जाँगरले उनी अहिले सफल व्यवसायी बन्न पुगेका छन् ।
जिल्ला पशुसेवा कार्यालयको मदनपोखरास्थित पशु सेवा केन्द्रका प्राविधिक शेरबहादुर रानाले गत वर्ष युवालक्षित कार्यक्रम अन्तर्गत कृषक जिसीलाई रु एक लाख तथा चापकटर मेसिन र घाँसका बीउ उपलब्ध गराएको बताए ।
२८ बैशाख २०७३, १।००
वि.सं.२०७३ वैशाख २८ मंगलवार १४:३० मा प्रकाशित