
काठमाण्डौं । नेपाल निर्माण व्यवसायी महासंघको एक प्रतिनिधिमण्डलले विहिवार आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भेटी निर्माण उद्योग अन्तर्गत आय कर, मुल्य अभिवृद्धि कर र राजस्व सम्बन्धि समस्याका सम्बन्धमा ध्यानाकर्षण गराएको छ ।
महासंघ अध्यक्ष शरदकुमार गौचन नेतृत्वको प्रतिनिधिमण्डलले आर्थिक वर्ष २०७२/७३ र सो भन्दा अघि सम्मको मुल्य अभिवृद्धि कर विवरण पेश गर्ने र नगर्ने, मुल्य अभिवृद्धि करमा दर्ता भएका कुनै पनि करदाताले आफुले बुझाउनु पर्ने कर, विवरण र मुल्य अभिवृद्धि कर यहि २०७३ पौष मसान्त भित्र बुझाएमा सोमा लाग्ने जरिवाना थप दस्तूर र ब्याज पुनः एक पटकको लागि मिनाहा हुने व्यवस्था गर्न महानिर्देशक शर्माको ध्यानाकर्षण गराएको छ ।
निर्माण व्यवसायीहरुले चाहेर पनि ऐन, नियमसँग सम्बन्धित समस्याका कारण समयमा कर फस्र्यौट गर्न नसकेको हुनाले आर्थिक रुपमा राष्ट्रलाई नै ठूलो हानी नोक्शानी पुगी रहेको अवस्थामा व्यवासायीमैत्री कर प्रणाली अवलम्बन गरी आगामी २०७३ पौष मसान्त सम्ममा जरिवाना मिनाहा गरी किस्ताबन्दीमा तिर्न पाउने अवसर प्रदान गर्न साथै देशमा गत वर्ष गएको भुकम्पका कारणले व्यवसायीहरुले समयमा तिर्नु पर्ने कर नतिरेका कारण लाग्ने जरिवाना मिनाहा गर्ने व्यवस्था गर्न पनि प्रतिनिधिमण्डलले आग्रह गरेको छ ।
निर्माण व्यवसायी लगायत विभिन्न फर्म कम्पनीहरुको कर फछ्र्यौट गर्न बाँकी रहेका पुराना कर सम्बन्धि समस्याको सामाधान गर्न आन्तरिक राजस्व कार्यालय अथवा करदाता सेवा कार्यालयमा अत्याधिक कठिनाई भईरहेको हुँदा यस्ता समस्याहरुलाई सामाधान गर्नका लागि सरकारबाट कर फछ्र्यौट आयोग पुनः गठन गर्न पनि प्रतिनिधिमण्डले माग गरेको छ ।
प्रतिनिधिमण्डलमा महासंघका मानार्थ सदस्य जीपछिरिङ लामा शेर्पा, सल्लाहकार रमेश शर्मा, निवर्तमान अध्यक्ष जयराम लामिछाने, वरिष्ठ उपाध्यक्ष विष्णुभाई श्रेष्ठ, उपाध्यक्षद्धय रुद्र शर्मा र लक्ष्मण राना, महासचिव रामशरण देउजा, कोषाध्यक्ष रोशन दाहाल सहित अन्य निर्माण व्यवसायीहरुको सहभागिता थियो ।
३१ बैशाख २०७३, ११।००
वि.सं.२०७३ वैशाख ३१ शुक्रवार १२:२६ मा प्रकाशित