
म्याग्दी। म्याग्दीका बाथ, ग्यास्ट्रिक, श्वासप्रस्वास, नसा, कमलपित्त, अम्लपित्त, पेटरोगका बिरामी आयुर्वेद उपचारपद्धतीप्रति आकर्षित भएका छन् ।
तीनवर्ष अघिसम्म दैनिक मुस्किलले एक दर्जन भन्दा कम बिरामी आउने बेनीस्थित जिल्ला आयुर्वेद केन्द्रमा अहिले दैनिक ४० भन्दा बढी बिरामी आउने गरेका छन् । आयुर्वेद औषधि, उपचारप्रति बिरामीको आकर्षण बढेपछि केन्द्रले मातहतका भगवती र दानास्थित औषधालयबाहेक बाबियाचौर र घार गाविसको पोखरेमा गाउँघर क्लिनिक सञ्चालन गरेको छ ।
केन्द्रले पछिल्लो समय गाउँगाउँमा पुगेर निःशुल्क उपचार शिविर सञ्चालन गरेपछि एलोपेथिक औषधि खाएर पनि निको नभएका बिरामी यसतर्फ आकर्षित भएका हुन् । गरिब, विपन्न र ग्रामीण भेकको बिरामी आयुर्वेद औषधि उपचारका लागि आउन थालेका जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख रमेश शर्मा भुसालले बताए ।
उनका अनुसार एलोपेथिकतर्फभन्दा आयुर्वे्दिक उपचारपद्धतीको प्रचार नभएकाले पछि परेको हो । भुसालले भने, “आयुर्वे्दिक औषधि अलि बढी समय सेवन गर्नुपर्छ तर नकारात्क असर भने गर्दैन ।”
केन्द्रका अनुसार म्याग्दीमा आयुर्वे्दिक औषधि प्रयोग गर्ने र उपचार गराउने बिरामीको सङ्ख्या बढ्दो छ ।
प्रकाशितः २०७३ जेठ १
वि.सं.२०७३ जेठ १ शनिवार १५:२५ मा प्रकाशित