
चितवन । बोकाको एक किलो मासुको मूल्य कति ? रु ५००, ६०० वा ८०० । ठाउँ अनुसार फरकरफरक मूल्य पर्ला । तर चितवनमा एक किलो मासुको मूल्य झन्डै चार हजार पर्छ भन्दा तपाई आश्चर्य मान्नुहुन्छ होला । तीन हजार ७५० मा त किनबेच नै भइसक्यो ।
पश्चिम चितवनको जगतपुरबाट नुवाकोटका अमृत तिवारीले एउटा ८० किलोको प्योर बोयर (क्रस नगरेको शुद्ध बोयर) जातको बोकालाई रु तीन लाखमा खरिद गरी लगे। उनले अझै केही बाख्राको समेत माग गरेका छन्। काठमाडौँका कल्पदीप राईले ८२ किलोको बोका रु तीन लाख नौ हजार बुझाएर लगे।
म सँग एउटा बोका छ, त्यसलाई रु नौ लाख दिँदा पनि दिएको छैन, जगतपुरका बाख्रापालक किसान योगेन्द्रबहादुर खड्काले भने–यो बोका ब्याडका लागि राखेको छु । पन्चानब्बे किलोको उनीसँग भएको त्यो बोकाको लागत मूल्य करिव रु ५ लाख छ ।
यो एउटा उदाहरण मात्रै हुन् । अलि ठूला बोकाको मूल्य प्रतिकिलो रु ६ हजारसम्म पर्ने जगतपुरमा बोयर जातका बाख्रा पाल्दै आएका व्यवसायी खड्काले बताए। यो दुईवटा बोका अलि सस्तोमा बेचिदिएको उनको भनाइ छ ।
ुएकसय प्रतिशत प्योर बोयर बोकाको प्रतिकिलो मूल्य रु पाँच हजार पर्छ, ग्रेड छुट्याएर राखिएको सबैभन्दा राम्रो बोकाको प्रतिकिलो रु ६ हजारभन्दा बढी पर्छ, खड्काले भने। विसं २०७० देखि चितवन सदरमुकाम भरतपुरबाट २० किमी पश्चिम जगतपुरमा खड्काले जगतपुर एग्रो प्रालिु सञ्चालन गरेका छन्। दक्षिण अफ्रिकाबाट उहाँले बोयर जातको बाख्रा ल्याएर व्यावसायिक बाख्रापालन थालेका छन् ।
अहिलेसम्म बीउ उत्पादनमै ठिक्क छ, खड्काले भने–पछि फस्टाउँदै जाँदा भने अन्य खसीबोका सरह मासु दिन सकिन्छ होला । यो जातको बाख्रा छिटो बढ्ने र तौल राम्रो हुने भएकाले व्यावसायिक भएपछि भने लोकल खसी बाख्राको मूल्यमा दिन सकिने सम्भावना रहेको उनले बताए ।
अहिले उनले बीउ उत्पादनकै लागि बोबा बाख्रा बेचिरहनुभएको छ । दक्षिण अफिकाबाट ल्याएर यो जातको बाख्रा पाल्ने आफू नै पहिलो भएको दाबी गर्ने खड्काले अहिले करिब रु दुई करोड लगानीमा बाख्रापालन थालेको बताए। सुरुमा उनले १७ वटा प्योर बोयर जातका बोका बाख्रा दक्षिण अफ्रिकाबाट ल्याएका थिए।
चारवटा बोकालाई रु १३ लाख र १३ वटा अन्य बाख्रा ल्याउँदा रु ३९ लाख लाग्यो । खड्काले यो वर्ष अझै नयाँ ५० वटा ल्याउन लागेका छन् । बाख्रा ल्याउँदा भाडा नै एउटा बोकाको ७० हजार लागेको स्मरण सुनाउँदै उनले १० प्रतिशत भ्याटलगायत पैसा तिर्नुपरेको बताए। मुख्यगरी यो जातका बाख्रामा बोसो कम हुने, तौल चाँडो बढ्ने, खाँदा मासुपनि राम्रो हुने भएकाले अरु भन्दा फरक भएको जिल्ला पशुसेवा कार्यालय चितवनका प्रमुख डा. रामकुमार कार्कीले बताए ।
सरकराले ल्याएको सहुलियत ब्याजको रु एक करोड रकम ल्याएर खड्काले यहाँ व्यवसाय सुरु गरेका छन् । हाल खोरमा १७४ वटा बोका र बाख्रा छन् । छ बिगाहा क्षेत्रमा चरनसमेत गरिएको छ । घाँसपालन पनि छ । व्यवस्थित खोरमा पालिएका छन् बाख्रा । उनले अहिलेसम्म रु १९ लाखको मात्रै बेच्न पाएका छन्।
काटेर खान अहिलेसम्म उत्पादन गराउन नसकेको यो बाख्रापालन अहिले विभिन्न जिल्लामा सुरु भएको डा कार्की बताउनुहुन्छ । जमुनापारी बाख्राको व्यावसायिक पालन भने चितवनको पहाडी क्षेत्रमा फस्टाएको छ । विपन्न समुदाय र विशेष गरी चेपाङहरुले त्यस्ता बाख्रा पालेका छन् । तर बोयर जातको भने पालन न्यून छ ।
यसरी बढ्छ तौल
सामान्य गाउँघरमा पालिएका बाख्रा एक दिनमा करिब ३५ देखि ४० ग्रामसम्म बढ्छ । तर बोयर जातको बाख्रा उही खानामा एक दिनमा क्रस गरिएका बोका १५० देखि २०० ग्राम र प्योर बोयर ४०० ग्रामसम्म बढ्ने खड्काले बताए । दुई महिनामै १८ देखि २२ किलोसम्म आफ्नै खोरमा उत्पादन भएको उनको दाबी छ । हेर्दा सानो देखिन्छ तर तौल धेरै हुन्छ ।
यसका खुट्टा छोटा हुने भएकाले साना देखिने गरेको स्थानीय पशुपालक व्यवसायी भागिरथ तिमिल्सिनाले बताए। अहिले उनको खोरमा एउटा ९५ किलोको बोका छ । उक्त बोकालाई रु नौ लाख दिँदा समेत नदिएको खड्काले बताए । ग्राहक धेरै आउन थाले बीउ नै पुर्याउन सकेको छैन, खड्काले भने–त्यो बोका ब्याडका लागि हो । सबैले आँखा लगाउँछन् । हेर्दै सलक्क परेको बोका छ ।
विसं २०६५ देखि नै यो जातको बाख्रापालन सुरु भएको हो । झापा, स्याङजा, रामेछाप, चितवनलगायत जिल्लामा यो जातका बाख्रा पाल्न थालिएको छ ।
प्रकाशितः २०७३ जेठ ४
वि.सं.२०७३ जेठ ४ मंगलवार १६:२६ मा प्रकाशित