
काठमाण्डौं । सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एवं कर छली नियन्त्रणका लागि सूचना आदान प्रदान गर्ने सम्बन्धमा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग र आन्तरिक राजस्व विभाग बीच पारस्परिक समझदारी पत्रमा जेठ ५ गते हस्ताक्षर भएको छ ।
आन्तरिक राजस्व विभागको तर्फबाट महानिर्देशक चुडामणि शर्मा र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको तर्फबाट महानिर्देशक किशोरजंग कार्कीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । आन्तरिक राजस्व विभाग र सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागको अनुसन्धान कार्यलाई थप प्रभावकारी बनाई अन्तर निकाय सहयोग समन्वय र सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक भएकोले समझदारी पत्रको आदान प्रदान भएको हो ।
हस्तक्षर भएको सम्झौता पत्रमा निम्न बुँदा समावेश गरिएकोछ ।
१. सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी एवं कर छली सम्बन्धी अनुसन्धान गर्न प्रभावकारी समन्वय र सहकार्य गर्दै प्रचलित कानूनको परिधि भित्र रही आवश्यकतानुसार एक आपसमा सूचना आदान प्रदान गरिनेछ ।
२. सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी एवं कर छलीका जोखिमका क्षेत्रहरु पहिल्याई सोको निवारणका लागि संयुक्त वा अलग अलग रुपमा जोखिम व्यवस्थापन गरिनेछ ।
३. आ–आफ्नो क्षेत्राधिकारका विषयहरु सूक्ष्म रुपमा अनुसन्धान तथा अन्वेषण गरी आवश्यकतानुसार निष्कर्ष आदान प्रदान गरिनेछ ।
४. सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण एवं कर छली नियन्त्रण सम्बन्धी कार्यमा संलग्न जनशक्तिहरुको क्षमता विकास गरिनेछ ।
५. दुवै पक्षले सूचना आदान प्रदान कार्यलाई व्यवस्थित गर्न आ–आफनो निकायमा सम्पर्क व्यक्ति तोकिनेछ ।
६. यो पारस्परिक समझदारी पत्र ५ वर्षको लागि मान्य हुने छ । आपसी समझदारीमा आवश्यकतानुसार पुनः नवीकरण गर्न सकिनेछ ।
७. यो समझदारी पत्र दुवै पक्षबाट हस्ताक्षर भएको मितिदेखि लागू हुनेछ ।
८. दुवै पक्षबाट आपसी सूचना आदान प्रदानको अभिलेख व्यवस्थित गरी सोको वार्षिक प्रतिवेदन तयार गरी सो समेत आदान प्रदान गरिनेछ ।
९. दुवै पक्षको सहमतिमा आवश्यकतानुसार यस समझदारी पत्रमा संशोधन गर्न सकिनेछ ।
६ जेठ २०७३, १०।००
वि.सं.२०७३ जेठ ६ बिहीवार १२:३० मा प्रकाशित