
मुगु । सरकारले सामुदायिक बिद्यालयमा शैक्षिक सत्रको सुरुमै पाठ्यपुस्तक वितरण गर्ने भनेपनि मध्यपश्चिमको विकट जिल्ला मुगुमा अहिलेसम्म पाठ्यपुस्तक पुग्न सकेको छैन । समयमै पाठ्यपुस्तक नपुगेपछि बिद्यार्थीको पठकपाठन प्रभावित भएको छ ।
गत बर्ष बचेका सीमित पाठ्यपुस्तक सदरमुकाम आसपासका केहि विद्यालयले पाए पनि जिल्लका अन्य विद्यालयको पठन पाठन ठप्प भएको छ । बैशाख १ गते बाट शैक्षिक सत्र सुरु भै १५ गतेबाट पढाई सञ्चालन हुनु पर्ने मुगु जिल्लाका विद्यालयहरु समयमा आवश्यक पाठ्यपुस्तक ढुवानी हुन नसक्दा जेठको पहिलो सातासम्म सञ्चालन हुन सकेका छैनन् ।
नयाँ किताव पाउने रहरमा विद्यालय आउने वालवालिकाहरु हरेक दिन खालीहात पर्कनु पर्दा उनिहरुको पढाई प्रतिको उत्साह घट्दै गएको पाइएको छ । किताव नपाएका विद्यार्थीहरु फुर्सदिला बन्ने गरेका छन् । ठूला कक्षाका बिद्यार्थीभने पढाइ नभएपछि घरमै आमाबाबुलाई सघाइरहेका छन् ।
भर्ना अवधि भित्रै पाठ्य पुस्तक वितरण गरी पठन पाठन सुरु गर्ने शिक्षा निति भए पनि राज्य र स्थानीय बिक्रेताको ढिला सुस्तीका कारण मुगुका विद्यार्थीको पढाई प्रभावित भएको जिल्ला शिक्षा अधिकारी जवाहरलाल हमालले जानकारी दिए ।
कक्षा १ देखि १० सम्मका केहि पाठ्य पुस्तक पुगिसकेको र बाँकी पुस्तक पनि छिट्टै पुग्ने पुस्तक वितरकको भनाइ छ । वाटो सहज भइ नियमित यातायात संचालन हुँदा पनि राज्यले मुगुको शिक्षा प्रति चासो नदेखाएरै पाठ्यपुस्तक समयमै उपलब्ध नगराएको अविभावकको गुनासो छ ।
६ जेठ २०७३, १०।००
वि.सं.२०७३ जेठ ६ बिहीवार १२:५२ मा प्रकाशित