
काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षभित्र नेपालमै पेट्रोल उत्पादन हुने दाबी गरेका छन् । पेट्रोल उत्खनन्को काम सुरु भइसकेको भन्दै उनले त्यसपछि छिमेकी देशको भर पर्नु नपर्ने बताएका छन् ।
प्रेस चौतारी नेपालको महाधिवेशन उदघाटन समारोहलाई आज बिहीबार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘दुई वर्षभित्र हामी आफै पेट्रोल उत्पादन गर्छौं । त्यसपछि उत्तरबाट चीनको तेलको प्रतिक्षा गरिरहनु पर्दैन । त्यसका लागि उत्खनन कार्य सुरु भइसकेको छ ।’
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले ६ दशमलव ५ प्रतिशतको आर्थिक बृद्धिको हासिल गर्ने कुरा पूरा गरेरै छाड्ने दृढता पनि व्यक्त गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘नवलपरासीमा फलामको खानी उत्खनन् भइरहेकोछ, एउटा फलामको खानीबाट १० खर्ब रुपैयाँ आउँछ । यो एक बर्षको बजेटभन्दा धेरै हुन्छ । त्यसैले मैले ६.५ प्रतिशतको आर्थिक बृद्धिको कुरा गरेको छु । त्यो पूरा गरेर छाड्छु ।’
६ जेठ २०७३, ४।३०
वि.सं.२०७३ जेठ ६ बिहीवार १६:२६ मा प्रकाशित