
काठमाण्डौं । बिमाको सेयरमा लगानी गर्नेहरू यतिखेर राम्रो आम्दानी गरिरहेका छन् । यो साता त उनीहरूका लागि थप उत्साहजनक रह्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत नौ समूहमध्ये बिमा समूहको उपपरिसूचक १ सय ५४ दशमलव २३ अंकले बढेर ७ हजार १ सय ७० दशमलव ३१ मा पुगेको छ । यो अन्य सबै समूहको परिसूचकभन्दा धेरै हो ।
बिमा पछि धेरै कमाउनेमा बैंकका लगानीकर्ता छन् । साताभर यो समूहको परिसूचक २६ दशमलव ४५ अंकले बढ्यो । विकास बैंक र जलविद्युत् समूहका लगानीकर्ताका लागि पनि यो साता सुखद रह्यो । यी समूहको परिसूचक क्रमशस् २४ दशमलव ३१ र २२ दशमलव ९ अंकले बढे । यस्तै होटल र वित्त कम्पनी समूहका लगानीकर्ताको सम्पत्ति साढे १४ र साढे ७ अंकका दरले बढे ।
तर, उत्पादन तथा प्रशोधन र ‘अन्य’ समूहका लगानीकर्ताका लागि यो साता दुस्खद रह्यो । उत्पादन तथा प्रशोधन समूहको परिसूचक ६५ दशमलव ७९ अंकले र ‘अन्य’ समूहको परिसूचक ११ दशमलव ७५ अंकले घटे ।
यो साता पाँचै दिन सेयर कारोबार भयो । करिब २० हजार ६ सय वटा कारोबारबाट १ सय ५३ कम्पनीका ६ लाख ९८ हजार ८ सय १३ कित्ता सेयर खरिदबिक्री भए । उक्त व्यापारबाट ४ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो ।
प्रकाशितः २०७३ जेठ ८
वि.सं.२०७३ जेठ ८ शनिवार ११:०७ मा प्रकाशित