
काठमाण्डौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ औं साधारणसभा बैठकले एफपीओ सेयर निस्कासन गरेर संस्थापनतर्फ रहेको सेयर हिस्सा घटाउने भएको छ।
हाल संस्थापक समूहमा रहेको ८० प्रतिशत र सर्वसाधारण समूहमा रहेको २० प्रतिशत हिस्साको अनुपातलाई ७० र ३० गर्नको लागि कम्पनीको एफपीओ सेयर जारी गर्ने भएको हो। ३१ लाख कित्ता एफपीओ (फर्दर पब्लिक अफरिङ) निस्कासन हुने बताइएको छ।
एफपीओबाट कम्पनीको चुक्ता पुँजीमा ३१ करोड रुपैयाँ थपिनेछ। थपिएको प्रिमियम रकम भने जगेडा कोषमा जम्मा हुन्छ।
अंकित मूल्य प्रतिकित्ता १ सय रुपैयाँमा प्रिमियम रकम थपेर कम्पनीले सेयर निस्कासन गर्नेछ। प्रिमियम रकम कति थप हुन्छ भन्ने कुरा चासोको विषय बनेको छ। कम्पनीको हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ३ हजार ४ सय ४५ रुपैयाँको हाराहारीमा छ। २ करोड १६ लाख ७५ हजार कित्ता सेयर सूचीकृत छ।
कम्पनीले सेयरधनीलाई २६.३१ प्रतिशत बोनस सेयर पनि दिने भएको छ। बोनस र एफपीओपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३७ करोड नाघ्ने छ। हाल कम्पनीको १ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ।
कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिसम्म २३ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको छ। जवकि गत वर्षको यही अवधिमा कम्पनीको नाफा ११ करोड ८७ लाख रुपैयाँ मात्रै थियो। यो अवधिमा कम्पनीको जगेडा कोषको आकार ७२ करोडको रहेको छ।
प्रकाशितः २०७३ जेठ ८
वि.सं.२०७३ जेठ ८ शनिवार १५:०४ मा प्रकाशित