
भक्तपुर । भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिका वडा २ र ५ (बालकोट साबिक ३ र ९ ) मा पर्ने हनुमन्ते खोला स्थित् ब्लकफ्याक्ट्रीले गत सात वर्षदेखि जमिन अतिक्रमण गर्दा करिब एक सय जना जग्गा धनी पीडित बन्दै आएका छन् ।
पुनराबेदन अदालत, जिल्ला प्रशासन कार्यालय स्थानीय मध्यपुर थिमी र अनन्तलिड्गेश्वर नगरपालिकाले सप्रमाण जग्गा धनीको नाममा प्रमाण दिलाए पनि पीडित पक्षले जग्गा भोगचलन गर्न पाएका छैनन् ।सो क्षेत्रमा एक सय घर परिवारको गरी करिव ४० रोपनी जग्गा खोलामा परेको र ब्लकफ्याक्ट्रीले साबिकको खोला अतिक्रमण गरेको पीडित पक्षको गुनासो छ ।
पीडित पक्षले शनिवार पत्रकार सम्मेलन गरी आफ्नो नाममा लालपुर्जा भएकाले जग्गाको भोगचलन गर्न पाउनुपर्ने माग गरेका छन । उनीहरुले संविधानले दिएको सम्पत्ति भोगचलनको अधिकारबाट वञ्चित हुँदासमेत स्थानीय प्रशासनबाट अपहेलित हुनुपरेको गुनासो गरेका छन् ।
पीडित जग्गाधनी प्रदिप कार्कीले पुनरावेदन अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला प्रशासन स्थानीय निकाय आदिबाट जग्गा भोकाधिकारका लागि निर्णय भए पनि उक्त निर्णय हालसम्म कार्यान्वयन गर्नमा प्रशासन नै बाधक भइरहेको बताउनुभयो ।
उहाँका अनुसार विभिन्न सरकारी निकायले दिएको प्रमाण अनुसार ब्लकफ्याक्ट्रीले सात वर्षदेखि साबिकको खोलो जग्गा धनीको तर्फ बगाइ गैरकानुनीरुपमा जग्गा कब्जा गरेको छ । स्थानीय प्रशासन र नगरपालिकाले पीडित जग्गाधनीको भन्दापनि ब्लकफ्याक्ट्रीको पक्षपोषण गर्दै आएकाले पीडितले न्याय पाउन नसकेका हो ।
अर्का पीडित जग्गा धनी शिबशरण खत्री आफ्नो नाममा भएको जग्गा आफैंले उपयोग गर्न नपाउँदा समेत आफूले राज्यबाट न्याय नपाएको दुःखेसो गर्नुहुन्छ ।अब अति भयो सात वर्षदेखि हामीले जग्गा प्राप्त गर्ने प्रयास गर्दा समेत जग्गा पाएनौं अब कानुनी रुपमा खोलाको धार साबिकै स्थानमा परिवर्तन गरी जग्गा उपभोग गर्न पछी पर्दैनौं ।
गत वैशाख १५ गते नापी कार्यालय भक्तपुरले स्थलगत अध्ययन गरी जिल्ला प्रशासन कार्यालयलाई प्रदान गरेको प्रतिवेदन अनुसार २०२१ सालमा नापी हुँदाको बखत जुन अवस्थामा खोलो थियो सोही अवस्थामा खोला कायम गरी तत्काल खोला वरिपरीका जग्गाहरु नापी गरी श्रेष्ता कायम भएको छ ।
केही समयपछि हनुमन्ते खोलामा बाढि आइ खोलाले धार परिवर्तन गर्दा निजी जग्गाबाट खोला बगेको र खोलाले साबिकको बगेको ठाउँ छोडेको साबिक खोलाले छाडेको जग्गा मध्ये केही भाग अनाधिकृतरुपमा अन्य व्यक्तिले (ब्लकफ्याक्ट्री) भोगचलनमा ल्याएको र निजी जग्गामा खोला बगि जग्गाधनीलाई मर्का परेको भन्ने उल्लेख छ ।
जग्गा धनीले आफ्नो जग्गा संरक्षण गर्न खोज्दा विभिन्न राजनीतिक शक्ति केन्द्रको आडमा सो ब्लकफ्याक्ट्रीले स्थानीय गुण्डा फटाहाहरु प्रयोग गरी उल्टै सडक बन्द गर्ने, नाराबाजी गर्ने, पीडित जग्गा धनीलाई भू–माफियाको आरोप लगाउने कार्य गर्दै आएको समेत पीडित सुमन कार्कीले बताउनुभयो ।
प्रकाशितः २०७३ जेठ ९
वि.सं.२०७३ जेठ ९ आइतवार १०:५१ मा प्रकाशित