
बुटवल । ट्राफिक नियम विपरित संचालन हुने सवारी साधनलाई ट्राफिक प्रहरीले लिँदै आएको जरिवाना शुल्क अत्यधिक वृद्धि गरिएको भन्दै यहाँ स्थित यातायात सम्बद्ध संघसंस्था आन्दोलनमा उत्रेका छन्।
सरकारले सरोकारवालासँग समन्वय नै नगरी सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६३ र १६४ मा रहेको जरिवाना रकमलाई अत्यधिक वृद्धि गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन्।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल ट्रक यातायात व्यवसायी महासंघ, पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र ढुवानी व्यवसायी महासंघ नेपालसँगै चारवटा यातायात मजदुर संगठनले जरिवाना शुल्क वृद्धिको विरोध गर्दै संयुक्त रुपमा आन्दोलन मुल समिति गठन गरी आन्दोलनका कार्यक्रम अघि सारेका हुन्।
यातायात सम्बद्ध संघसंस्थासँगको आवश्यक छलफल पछि मात्र संशोधित नियम कार्यान्वयन गर्न गृहप्रशासनले निर्देशन दिएपनि ट्राफिक प्रहरीले निर्देशनको अवज्ञा गर्दै जेठ १ गतेदेखि ५ सय देखि १५ सय रुपैयाँसम्म जरिवाना असुल गर्न थालेपछि उनीहरुले आन्दोलन सुरु गरेका हुन्।
आन्दोलनरत पक्षले जरिवाना वापत प्रहरीले पाउने १५ प्रतिशत कमिसन खारेज गर्नुपर्ने माग राखेकाछन् ।
११ जेठ २०७३, १२।००
वि.सं.२०७३ जेठ ११ मंगलवार १२:५२ मा प्रकाशित