काठमाण्डौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा रेल्वे सम्वन्धि पूर्वाधारका लागि करिब साढे १८ अर्ब रुपैयाँ बजेट विनियोजन गर्ने भएको छ । रेलको सम्भाव्यता अध्ययन, विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र स्तरोेन्नतिका लागि उक्त रकम विनियोजन गर्न लागिएको हो ।
राष्ट्रिय योजना आयोगले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई यसका लागि १८ अर्ब ४६ करोड रुपैयाँको बजेट सिलिङ दिएको बताइएकोछ । यो बजेट चालू आर्थिक वर्षको भन्दा अढाई अर्ब रुपैयाँले बढी हो । चालू आर्थिक वर्षमा पनि सरकारले रेलका लागि १६ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो । तर, अहिलेसम्म सो विनियोजित बजेटमध्ये ५ प्रतिशत पनि खर्च भएको छैन ।
अहिले काठमाडौं उपत्यकामा ७८ किलोमिटर लामो मेट्रो रेलको डीपीआर तयार गरी पेस गर्ने, रसुवागढी-काठमाण्डौं-पोखरा-लुम्बिनी हुँदै भारतीय सीमासम्म रेलवे सेवा सञ्चालन गर्न सरकारले विशेष प्राथमिकता दिइरहेकोछ ।
११ जेठ २०७३, ४.००
वि.सं.२०७३ जेठ ११ मंगलवार १६:४६ मा प्रकाशित