
काठमाण्डौं । डायस्पोरामा फिल्म रिलिज गर्दै हिँडेका अभिनेता भूवन केसीले आफ्नो निर्देशकिय डेब्यू फिल्म ‘ड्रिम्स’को पाइरेसी भएपछि दोषी पत्ता लगाइ पाउँ भन्दै महानगरिए प्रहरी परिसर टेकु पुगेका छन्।
हिजो बिहिबार दिउँसो उनले त्यहाँ रहेको साइबर सेल शाखामा उजुरी दर्ता गराउँदै एसएसपी सर्वेन्द्र खनालसँग भेटेर जत्तिसक्दो चाँडो फिल्म पाइरेसी गर्नेलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
भुवनले फिल्मको पाइरेसीका कारण आफूलाई झण्डै १ करोड रूपयाँ बराबरको हानी भएको दाबी गरेका छन् । केसी हालै फिल्म प्रदर्शनका लागि अष्ट्रेलिया र युरोप गएर फर्किएका हुन्।
विगतका केही महिनादेखि हिट नेपाली चलचित्रहरुको पाइरेसी हुने क्रम बढिरहेको छ। त्यसको पछिल्लो सिकार ड्रिम्स भएको छ । ड्रिम्स अघि प्रेमगीत, पशुपतिप्रसाद लगायतका फिल्महरूको पनि पाइरेसी भइसकेको छ।
१४ जेठ २०७३, १।००
वि.सं.२०७३ जेठ १४ शुक्रवार १३:०९ मा प्रकाशित