काठमाडौ । रुपन्देहीको देवदहमा हाइवे इमर्जेन्सी रेस्पोन्स सेन्टर बन्ने भएको छ । उक्त सेन्टर निर्माणका लागि बुटवलस्थित सुरक्षित यात्रा अभियान नेपाललाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले सहयोग रकम हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच नासाका अध्यक्ष दशरथ रिसाल र सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डेले सो सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य यमकुमारी गुरुङले सहयोग वापतको २ लाख रकमको अभियानका महासचिव पाण्डेलाई हस्तान्तरण गरिन् ।
उक्त अवसरमा सुरक्षित यात्रा अभियानले स्थानीय संघ संस्था, व्यावसायिक प्रतिष्ठान र सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा देवदहमा आगामी ६ महिनाभित्र रेस्पोन्स सेन्टर निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । रेस्पोन्स सेन्टरमा दुर्घटनामा परेकाहरुलाई आकस्मिक उद्धार गरिने छ । यसका लागि सो क्षेत्रका युवाहरुलाई आकस्मिक उद्धार सम्बन्धी तालिम, स्थानीय सरकारी तथा गैरसरकारी निकायहरुसँग यसका लागि आवश्यक समन्वय एवं अन्य कार्य गर्नेछ ।
नासाले एफआईए सोलिडारिटी फन्ड अन्तर्गत सो सहयोग गरेको हो ।
भनिन्छ, दुर्घटनालाई रोक्न सकिदैन तर समयमै ध्यान पुर्याउने हो भने दुर्घटनाबाट हुने क्षति र हताहतीलाई रोक्न सकिन्छ । यही मान्यतामा रहेर नेपालका केही राजमार्गमा हाइवे इमर्जेन्सी रेन्सपोन्स सेन्टर निर्माण गरिदैछ ।
१५ जेठ २०७३
वि.सं.२०७३ जेठ १५ शनिवार १४:२० मा प्रकाशित