
अछाम । नेपाली कांग्रेस बाजुराका जिल्ला कार्य समिति सदस्य रामबहादुर सुनारको भीरबाट लडेर ज्यान गएको छ । सुनारसँगै रहेका सोही गाउँका जपेन्द्र शाही गम्भिर घाईते भएका छन् ।
तोली गाविस–१ का सुनारको शनिबार राति गाउँकै खारखोला नजिकको भीरबाट लडेर ज्यान गएको बाजुरा प्रहरीले जानकारी दिएको छ । सँगै रहेका शाहीको टाउँको र हातमा गम्भिर चोट लागेको जिल्ला प्रहरी प्रमुख डिएसपी दलबहादुर बोगटीले जानकारी दिए । घाईते शाहीको टाउकोमा सात टाँका लागेको तथा बाँया हात भाँचिएको र अछामको बयलपाटका अस्पतालमा उपचार भइरहेको छ ।
राति करिव ११ बजेतिर छिमेकी गाउँबाट घर जाने क्रममा उनीहरु भीरबाट लडेको प्रहरीलाई प्रारम्भिक जानकारी आएको डिएसपी बोगटीले बताए । सँगै रहेका दुबै लडेर करिव एक सय ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । मृतक सुनार दलित नेटवर्क बाजुराका अध्यक्षसमेत रहेका बुझिएको छ । सँगै रहेका दुबै कसरी लडे भन्ने बारेमा अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालयबाट एक टोली आज बिहानै घट्नास्थल तर्फ खटाईएको डिएसपी बोगटीले जानकारी दिए । घट्नास्थल अछामको सिमानासँग जोडिएको गाविस हो ।
१६ जेठ २०७३, ११.००
वि.सं.२०७३ जेठ १६ आइतवार १२:३७ मा प्रकाशित