
काठमाण्डौं । पूर्व कुमारीको प्रेम–जीवनलाई प्रमुख विषय बनाइएको चलचित्र ‘गाजलु’ शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ।
चलचित्रले उठाएको विषय र समावेश गरिएका दृश्याङ्कनप्रति ‘कुमारी घर’को आपत्ति भएको कुरा बाहिर आएकाले चलचित्र ‘गाजलु’ विवादमा परेको भनियो । तर कुमारी घरका पदाधिकारीले चलचित्र हेरेपछि यसले उठाएको कथावस्तुलाई स्वागत गरेका छन्।
पूर्व कुमारीको मुख्य भूमिकामा सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठ छन्। यो उनको पहिलो चलचित्र हो। हेमराज बिसीको निर्देशनमा बनेको चलचित्रमा अनमोल केसी, गौरव पहाडी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाहीलगायत कलाकारको अभिनय छ।
चलचित्रको लेखकसमेत रहेका निर्देशक बिसीले चलचित्रमा सबै कम उमेरका कलाकारलाई आफूले लिएको र यसको कथावस्तु पनि यसअघि कसैले उठान नगरेका विषयको भएकाले दर्शकले मन पराउने आशा व्यक्त गरे। उनले भने – “नेपाली समाजको एउटा गम्भीर विषयवस्तुलाई उठाएको भए पनि यो रोमान्टिक प्रेमकथामा आधारित चलचित्र हो ।”
बिसीले यसअघि युवा पुस्तालाई लक्ष्य गरी ‘होस्टेल’, ‘जेरी’ जस्ता चलचित्रको निर्देशन गरिसकेका छन्।
२८ जेठ २०७३, ११।००
वि.सं.२०७३ जेठ २८ शुक्रवार १२:०४ मा प्रकाशित