
भक्तपुर । डिभिजन सडक कार्यालय भक्तपुरले जिल्लाका तीन ठूला सडक कौशल्टार–बालकोट–बिरुवा सडक, विष्णु कुण्ड– सिद्धिकाली चोक– पुरानो बाटो थिमी सडक र बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको सडक विस्तार सुरु गरेकोछ ।
कौशलटारबाट बालकोट हुँदै बिरुवा जाने सडकमध्ये पहिलो चरणमा तीन करोड ७९ लाख ७८ हजारको लागतमा कौशलटारदेखि बालकोटसम्मको एक किमी सडक विस्तार गरिने भएको छ । त्यसपछि अर्को चरणमा बालकोट हुँदै सिरुटार बिरुवासम्म सडक विस्तार हुनेछ । त्यसैगरी अरनिको राजमार्गस्थित थिमी चारदोबाटोबाट विष्णुकुण्ड– सिद्धिकाली चोक हुँदै पुरानो बाटो थिमी सडक विस्तार पनि सुरु भएको छ । चार करोड नौ लाख ३९ हजार ३८६ को लागतमा डेढ किमी सडक विस्तार सुरु भएको हो ।
त्यस्तै, पुरानो ठिमी–बाखाहा बजारबाट हुलाक रोड हुँदै नगरपालिका कार्यालय– मिलरोड– मनोहरा खोलासम्मको पौने तीन किमी सडक पनि विस्तार सुरु गरिएको छ । १० करोड ६१ लाख ६४ हजार ७१४ का लागतमा निर्माण सुरु भएको हो ।
तीन वटै सडक आगामी दुई वर्षभित्र बनाइने सम्झौता भएको छ भने सडक मापदण्डभित्र परेका भौतिक संरचना भत्काएर विस्तार गरिने ती सडकमा दुवैतर्फ फुटपाथ, ढल, सात मिटर कालोपत्रे, निकास र ढलको व्यवस्था हुनेछ ।
३२ जेठ २०७३, १।००
वि.सं.२०७३ जेठ ३२ मंगलवार १४:३८ मा प्रकाशित